कात्तिक - नेपाल (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्सिर ४ गते हुने निर्वाचनलाई अग्रगमनतर्फको यात्रा जारी राख्ने वा प्रतिगमनतर्फ फर्कने विषयको जनमत सङ्ग्रह जस्तै भएको बताउनुभएको छ ।
चितवनको भरतपुरमा शनिबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै दाहालले त्यस्तो बताउनुभएको हो । उहाँले वर्तमान गठबन्धन ठूलो मेहनतले सिर्जना भएको १२ बुँदे शान्ति सम्झौतादेखिको निरन्तरता भएको बताउनुभयो ।
उहाँले एमालेसँगको एकता र नेकपा बनाएको विषयमा वर्तमान सहयात्रीमा केही आशङ्का उब्जेको विषय उठाउँदै गठबन्धन निरन्तरता प्रतिगमनको खतरा रहँदासम्म जारी रहने प्रष्ट पार्नुभएको हो ।उहाँले भन्नुभयो, “यो गठबन्धन ठूलो मेहनतले बनाइएको १२ बुँदे शान्ति सम्झौतादेखिको निरन्तरता हो । आशङ्का मेटेर यो गठबन्धन बनाइको हो । जबसम्म प्रतिगमनको खतरा रहन्छ त्यो बेलासम्म गठबन्धन कायम रहन्छ । यो चुनाव अग्रगमन र प्रतिगमनको जनमत सङ्ग्रह जस्तै हो ।”
प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा दाहालले गठबन्धन बनेपछि प्रतिगमनको खतरा कम हुँदै आएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीसँगै सुदूरपश्चिम र पश्चिम नेपालका थुप्रै जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने अवसर पाएको र गठबन्धनले बहुमत ल्याउने विषयमा कुनै शङ्का गरिरहनु नपर्ने दाबी गर्नुभयो । चितवन सधैँ प्रगति, न्याय, विकास र अग्रगमनको पक्षमा रहेको बताउँदै दाहालले यस पटकको निर्वाचनमा पनि चितवनका जनताले अग्रगमनको पक्षमा मतदान गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
चितवनको निर्वाचन क्षेत्र नम्बर ३ लाई आफ्नै निर्वाचन क्षेत्रको रूपमा लिएको बताउँदै यस पटक गठबन्धन तर्फबाट उम्मेदवार बन्नुभएका डा. भोजराज अधिकारीलाई आफ्नो उत्तराधिकारीको संज्ञा दिनुभयो । आफू गोरखा जाँदै गर्दा घर चितवन मै भएको र चितवनको विकास प्रति चासो सदा रहने प्रतिबद्धता दाहालले व्यक्त गर्नुभएको छ ।
दाहालले भन्नुभयो, “चितवनको विकासप्रति मेरो चासो सदा रहनेछ । सुरु भएको विकासलाई मेरो पुरापुर समर्थन रहने छ । त्यसलाई पूर्णता दिने कुरामा म प्रतिबद्ध छु।”