आज कार्तिक कृष्णपक्षको अन्तिम दिन अर्थात् औँशी। आज सूर्य ग्रहण लाग्दैछ। ग्रहण किन लाग्छ? किन औँशीपूर्णिमामा नै लाग्छ? सबै औँशीपूर्णिमामा चाहिँ किन लाग्दैन? दुई ग्रहणहरूबीचको समय किन बराबर हुन्न? कसरी गरिन्छ ग्रहणको भविष्यवाणी? कसरी दोहोरिन्छ ग्रहणको शृंखला चक्र? यसबारे केही कुरा गरौँ:
किन लाग्छ ग्रहण?
सूर्यबाट आएको प्रकाश छेकिएर पृथ्वीको छाया चन्द्रमामा परेमा चन्द्र ग्रहण र चन्द्रमाको छाया पृथ्वीमा परी चन्द्रमाले सूर्यलाई छेक्दा सूर्य ग्रहण लाग्छ।
किन औँशीपूर्णिमामै लाग्छ ग्रहण?
औँशीपूर्णिमामा सूर्य, पृथ्वी र चन्द्र एउटै रेखामा आउँछन् नै। तर, एउटै रेखामा आउँदैमा ग्रहण लाग्दैन। प्रकाश छेकिएर ग्रहण लाग्न एउटै सिधा रेखामा पनि पर्नुपर्छ। त्यो सिधा रेखामा पर्ने सम्भावना औँशीपूर्णिमामा मात्र हुन्छ। ग्रहणबारे स्पष्ट हुन पृथ्वी र चन्द्रमाको कक्षीय नोड (राहु र केतु)बारे बुझ्न अति आवश्यक छ।
राहु र केतु के हुन्?
सूर्यलाई पृथ्वीले घुम्दा बन्ने कक्षीय धरातल र पृथ्वीलाई चन्द्रमाले घुम्दा बन्ने कक्षीय धरातलहरू खप्टिएका भए राहु र केतुको अवधारणा आउने थिएन। तर यी दुई धरातल खप्टनुको साटो ५.१५ को कोणमा एकापसमा ढल्किएकोले दुई धरातल आपसमा दुई बिन्दुमा काट्न पुग्छन्, जुन बिन्दुहरूलाई राहु र केतु भन्ने गरिन्छ।
राहु (असेन्डिङ नोडस्): चन्द्रमा र पृथ्वीको बाटो (कक्षीय धरातलहरू) काटिने बिन्दु, जुन बिन्दुबाट चन्द्रमा दक्षिणतर्फ झर्न थाल्दछ। त्यस बिन्दुलाई राहु भन्ने चलन छ। पृथ्वीबाट हेर्दा चन्द्रमा दक्षिणबाट उत्तरतर्फ बढ्दा चन्द्रमा र सूर्यको बाटो काटिने बिन्दु नै राहु हो।
केतु (डिसेन्डिङ नोडस्): चन्द्रमा र पृथ्वीको बाटो (कक्षीय धरातलहरू) काटिने बिन्दु, जुन बिन्दुबाट चन्द्रमा उत्तरतर्फ चढ्न थाल्छ, त्यस बिन्दुलाई केतु भन्ने चलन छ। पृथ्वीबाट हेर्दा चन्द्रमा उत्तरबाट दक्षिणतर्फ बढ्दा चन्द्रमा र सूर्यको बाटो काटिने बिन्दु नै केतु हो।
सबै औँशीपूर्णिमामा किन लाग्दैन ग्रहण?
सूर्यलाई पृथ्वीले घुम्दा बन्ने कक्षीय धरातल र पृथ्वीलाई चन्द्रमाले घुम्दा बन्ने कक्षीय धरातलहरू खप्टिएका भए प्रत्येक औँशीपूर्णिमा सूर्य, पृथ्वी र चन्द्र एउटै सिधा रेखामा आइपुगी ग्रहण लाग्ने थियो। तर, यी धरातल खप्टनुको साटो ५.१५ को कोणमा एकापसमा ढल्किएकोले सूर्य, पृथ्वी र चन्द्र प्रत्येक औँशीपूर्णिमा एउटै सतहमा आए पनि एउटै सिधा रेखामा आउन सक्दैनन्।
फलस्वरूप ग्रहण लाग्दैन। यस ढल्काइले गर्दा सूर्य, पृथ्वी र चन्द्र एउटै सिधा रेखामा आई ग्रहण लाग्नको लागि पृथ्वी र चन्द्र विपरीत नोड (राहु वा केतुमध्ये कुनै) मा आइपुग्नैपर्ने हुन्छ।
दुई ग्रहण बीचको समय किन बराबर हुन्न?
पृथ्वी र चन्द्रमाको कक्षीय धरातल ५.१५ को कोणमा ढल्कँदा पनि सूर्यलाई पृथ्वीले र पृथ्वीलाई चन्द्रमाले घुम्ने दुवै बाटो (कक्ष) वृत्ताकार भई सूर्य, चन्द्र र पृथ्वी बिचको दूरी सधैँ बराबर भइदिएको भए प्रत्येक औँशीपूर्णिमा ग्रहण नलागे पनि दुई ग्रहण बीचको अवधि भने बराबर हुने थियो तर पृथ्वी र चन्द्रमाको कक्ष दुवै वृत्ताकार नभई अण्डाकार (इलिप्टिकल) भएकोले सूर्यदेखि पृथ्वीको दूरी र पृथ्वीदेखि चन्द्रमाको दूरी घटबढ भई पृथ्वी र चन्द्रमा बराबर समयमा दुई विपरीत नोडमा आइपुग्न सक्दैनन्, जसले गर्दा दुई ग्रहण बीचको अवधि पनि बराबर हुन सक्दैन।
ग्रहणमास (ड्राकोनिक मन्थ, एक्लिपस् मन्थ, नोडल मन्थ): पृथ्वीलाई घुम्ने क्रममा चन्द्रमा कुनै एक नोड (राहु वा केतु)बाट त्यहीँ नोडमा आइपुग्न लाग्ने समय (२७.२१२ दिन) ग्रहणमास हो। नक्षत्रमास भन्दा ग्रहणमास केही छोटो हुन्छ। नक्षत्रमासको अवधिमा सूर्यको सापेक्ष पृथ्वी पनि नोड (राहु वा केतु)कै दिशामा केही अघि बढिसक्नु यसको कारण हो।
अनामलिस्टिक मन्थः पृथ्वीलाई घुम्ने क्रममा चन्द्रमा कुनै एक नोड (राहु वा केतु) बाट त्यहीँ नोडमा आइपुगिकन पुनः उही एपिसमा (पृथ्वीदेखि चन्द्रमा सबैभन्दा टाढा रहँदाको अवस्था) मा आइपुग्दाको समय (२७.५५४ दिन) अनामलिस्टक मन्थ हो। नक्षत्र मास भन्दा अनामलिस्टिक मन्थ केही लामो हुन्छ। पृथ्वी र चन्द्रमा दुवैको अण्डाकार कक्ष नै यसको कारण हो।
सेरस वर्ष: १८ वर्ष ११ दिन ८ घण्टाको समय अवधि (२२३ चन्द्रमास र २४२ ड्राकोनियन महिना) जुन समयपछि ग्रहणको चक्र शृंखला फेरि दोहोरिन्छ। पृथ्वी र चन्द्रमाको अण्डाकार कक्षको रारण केही अपवाद बाहेकका ग्रहणहरू यस समयापछि फेरि दोहोरिन्छ। अथवा भनौँ यो गाईतिहारे औँशीको दिनको सूर्य ग्रहणको मध्यान्हको ठिक १८ वर्ष ११ दिन ८ घण्टा (अधिक वर्षमा थपिने एक दिन, फेब्रुअरी २९ बाहेक) पछि आउने २२३ औँ पटकमा दोहोरिने औँशीमा दिन आजकै जस्तै खालको सूर्य ग्रहण लागेर मध्यान्हमा पुगेको हुनेछ। तर त्यो ग्रहण अहिलेभन्दा फरक भूगोलबाट देखिन्छ, यसभन्दा ८ घण्टा ढिलो घाम उदाउने ठाउँबाट। यस सम्बन्धी तथ्य सर्वप्रथम प्राचीन इटालीका बेबिलोनियन अन्वेषकहरूले ग्रहणबारे वर्षौंसम्म रेकर्ड राख्ने क्रममा पत्ता लगाएका थिए।
सार: सेरस वर्षको आधा समय, ९ वर्ष ५ दिन १६ घण्टाको समय जुन समयपछि चन्द्र ग्रहण र सूर्य ग्रहणको चक्र शृंखला दोहोरिन्छ। अथवा यो समय खण्डको जुन जुन समयबिन्दुमा सूर्य ग्रहण लागेको अर्को समय खण्डको त्यही त्यही समयबिन्दुमा चन्द्र ग्रहण लाग्दछ। यसो भनौँ, यो गाईतिहारे औँशीको दिनको सूर्य ग्रहणको मध्यान्हको ठिक ९ वर्ष ५ दिन १६ घण्टापछि आउने पूर्णिमाको दिन चन्द्र ग्रहण लागेर मध्यान्हमा पुगेको हुनेछ। तर, त्यो ग्रहण अहिले भन्दा फरक भूगोलबाट देखिन्छ। यहाँनेर उही खालको ग्रहण फरक ठाउँबाट देखिनुको कारण सिङ्गो दिनको अतिरिक्त आउने ८ घण्टाको समयले गर्दा हो। ५४ वर्ष ३४ दिन अर्थात् ३ सेरस वर्ष पछि ३८८ घण्टा (२४ घण्टा)को सिङ्गो दिनमा हुने मिलानले गर्दा उही खालको ग्रहण पहिलेकै ठाउँबाट देखिन्छ।
भ्रम: खगोल तथा अन्तरिक्ष विज्ञानका तथ्यहरूलाई दैवी शक्ति र राक्षसी शक्ति आदि कुरा जोड्दै यथार्थ तथ्यहरूमाथि नै टेकेर भ्रमको फूलबुट्टा भरिएको छ। ग्रहणको विषयमा पनि त्यही अवस्था छ। कुनै मान्छेको जन्मको समयको केही खगोलीय वस्तुहरू जस्तै सूर्य, पृथ्वी, चन्द्रमा, ग्रह, तारामण्डल आदिको ज्यामितीय बनोट, स्थान र अवस्थाअनुसार अवैज्ञानिक, आधारहीन र काल्पनिक तरिकाले राशि र नक्षत्रको नाममा वर्गीकरण गरिएको छ। यही वर्गीकरणको आधारमा कसैको गुण, दोष,चरित्र,भाग्य(?), भोगाइ र जीवन परिस्थितिलाई राम्रो र नराम्रो यस्तो र उस्तो, सुलक्षण र कुलक्षण आदिको बिल्ला भिराइन्छ। यस्ता खालका विभाजन र बिल्ला पूर्णतः विभेदकारी, अन्यायपूर्ण र अनैतिक छन्। यसो भन्दै गर्दा कोही कसैको भावनामाथि चोट पुर्याउन खोजेको भने होइन।
ग्रहणको विषयमा कुन राशि र नक्षत्रकाले हेर्ने, कसले नहेर्ने, कसलाई लाभ, कसलाई हानी, के गर्ने, के नगर्ने, आदिआदि विषय मिथ्या हुन्।
त्यसैगरी राहु र केतु पृथ्वी र चन्द्रमाको धरातलका साझा रेखातिरको बिन्दुहरू हुन, यसमा पृथ्वी र चन्द्रमा आइपुग्दा ग्रहण लाग्ने हो। अलौकिकवादले भने जस्तो राहु र केतु कुनै राक्षस र राक्षसी ग्रह होइनन्।
कसले हेर्ने? कसले नहेर्ने?
ग्रहण हेर्दा फरकफरक राशि र नक्षत्रको बिल्ला भिराइएको मान्छेहरूलाई फरकफरक प्रभाव पर्ने होइन, सबैलाई एकै खालको प्रभाव पर्ने हो। ग्रहण हेराइमा शुभ, अशुभ,फाप,नफाप भन्ने कुरामा खास मनासिब कारण छैन। ग्रहण हेर्न हुने र नहुने कुरा ग्रहणको प्रकार, हेर्ने मान्छेको आँखाको स्वास्थ्य, हेराइको तरिका र माध्यममा भर पर्ने कुरा हो, कुन राशि र नक्षत्रको बिल्ला भिराइएको छ भन्ने कुराले फरक पार्दैन।
(लेखक भौतिकशास्त्रका अध्येता हुनुहुन्हुछ ।)