दाङ - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष उपाध्यक्ष कृष्णबहादुर महराले समानुपातिक बन्दसूचिबाट आफ्नो नाम फिर्ता गराउनुभएको छ । माओवादी केन्द्रले समानुपातिकको बन्दसूचीबाट उपाध्यक्ष महराको आग्रहमा नाम हटाएको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले बताउनु भयो ।
महराको स्थानमा हितराज पाण्डेलाई राखिएको सचिव ढकालले बताउनुभयो । ‘प्रारम्भिक सूचीमा उहाँको नाम पहिलो नम्बरमा राखिएको थियो । उहाँकै आग्रहमा नाम हटाएर अर्को साथीलाई उहाँको ठाउँमा पठाउने भन्ने कुरो भएपछि हितराज पाण्डेको नाम राखिएको हो‚’ उहाँले भन्नुभयो । खस/आर्य पुरुषबाट महराको नाम पहिलो स्थान रहे पनि उहाँकै आग्रहमा उक्त सूचीबाट नाम हटाइएको ढकालले जानकारी दिनुभयो । प्रत्यक्षका लागि सिफारिस गरिए पनि महरा समानुपातिकत रोज्नुभएको थियो । महरा यसअघि रोल्पा र दाङबाट प्रत्यक्ष निर्वाचनमार्फत निर्वाचित हुनुभएको थियो ।
यसैबीच माओवादी केन्द्रका उपाध्यक्ष महराले नयाँ पुस्तालाई अवसर दिन त्याग गरेको बताउनुभयो । ‘मैले संसदीय निर्वाचनमा धेरैपटक जितिसकेको छु, अब नयाँलाई अवसर दिनुपर्छ भनेर त्याग गरें, महराले भन्नुभयो– ‘अब नयाँलाई अवसर दिनुपर्छ भनेर मैले त्याग गरेको हुँ, हामीले अहिले त्याग नगर्ने हो भने नयाँले कहिले अवसर पाउने ।’
उहाँ २०६४ र २०७४ सालमा दाङबाट निर्वाचित हुनुभएको थियो । माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उहाँले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसक्नुभएको छ । उहाँ एकपटक सभामुख र छ पटक मन्त्री पनि बनिसक्नुभएको छ ।