दाङः दाङमा चट्याङ लागेर दुई जना किशोरीको ज्यान गएको छ । तीजको दिन मंगलवार राति नाचगान गर्ने क्रममा चट्याङले लाग्दा घोराही उपमहानगरपालिका–१२ गुरौगाउँको सालडाँडामा २ जना किशोरीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार घटनामा ज्यान जानेमा गुरौगाउँका १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा शाह रहेका छन् । मंगलवार राति करिब साढे ११ बजेतिर घटना घटेको थियो । तीजको दिन घरमा पूजापाठ सकेर रातिमा सालडाँडामा जम्मा भएर नाचगान गर्ने क्रममा चट्याङले लाग्दा घटना घटेको प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिनुभएको छ ।
यस्तै करिब १२ जना भन्दा बढी महिला घाइते भएको र उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा फोन पनि नलाग्ने र दुर्गम भएकाले थप जानकारी आउन नसकेको प्रवक्ता गौतमले जानकारी दिनुभएको छ । उहाँका अनुसार घाइतेहरुलाई उपचारका लागि घोराही ल्याउने काम भैरहेको बताउनुभएको छ ।