दाङ: दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर १ निवासी पुष्पराज भण्डारी नेकपा एमालेका बंगलाचुली गाउँपालिका अध्यक्ष हुनुहुन्छ । उहाँको नाम सामाजिक तथा राजनितिक क्षेत्रमा धेरैले सुनेका छन् ।
तर एउटा सफल कृषक हुनुहुन्छ भनेको सुन्दा सबैलाई अचम्म लाग्न सक्छ ।किनकी धेरै राजनितक तथा सामाजिक क्षेत्रमा लागेकाहरुको परिवेश तथा चालचलन फरक हुन्छ । उनिहरुको रवाफ फरक हुन्छ । तर पुष्पराज भण्डारीको दैनिकी फरक छ ।
उहाँले विगत २५ वर्ष देखि व्यवसायीक तरकारी खेती गरेरै वार्षिक ३ देखी ५ लाख सम्मको आम्दानी गर्न सफल हुनुभएको छ । भण्डारीले आफ्नो २ रोपनी क्षेत्रफल जमिनमा विभिन्न तरकारीहरु लगाउँदै आईरहेको बताउनु हुन्छ । उहाँले मौसमी ,वेमौसमी, जातका तरकारीहरु आफ्नो बारीमा लागउँदै आउनु भएको छ ।
भण्डारी भन्नुहुन्छ" मैले २०५६ साल देखि कृषि पेशा सुरु गरेको हुँ।अहिले २ रोपनी क्षेत्रफल जमिनमा विभिन्न जातका तरकारीहरु लगाउने गरेको छु ।यसैबाट ६ जनाको परिवारलाई पुग्ने खर्च धानीरहेको छु ।" उहाँले कृषिलाई आधुनिकिकरण तर्फ लैजानु पर्नेमा जोड दिनुहुन्छ । भण्डारीले भन्नु हुन्छ,"हामिले अहिले पनि प्रम्परागत खेती प्रणाली अपनाउँदा समस्या रहेको छ ।
कृषकलाई कृषि सम्बन्धी ज्ञान दिएर यहाँका खेतबारीको माटो परिक्षण गरी सोही अनुसारको बाली लगाउन सकेमा राम्रो आम्दानी गर्न सकिन्छ।" कृषक भण्डारीले स्थानिय सरकारले कृषि पेशामा आवद्ध कृषकहरुलाई सहुलियतमा कृषि कर्जाको व्यवस्था गर्नु पर्नेमा जोड दिनु हुन्छ । उहाँले भन्नुहुन्छ,"कृषकहरुलाई मल, विउ ,विजनमा अनुदान दिनु पर्ने र कृषकले उत्पादन गरेको कृषि उपजलाई वजारीकरण गर्नका लागि स्थानिय सरकारले व्यवस्थापन गरेमा कृषकहरुले उत्पादन गरेको कृषि उपजले बजार पाउछ।"