- सन्तोष खनाल
दाङ : झरी लाग्ने असार साउनमा पानी नपर्दाको असर खेतीपातीमा देखिएको छ । रासायनिक मल नपाएर समस्यामा परेका किसानले राखेको व्याड पानीको अभावमा रोप्नै नपाएपछि निराश भएका हुन् ।
असारमै धान रोपेर सक्नुपर्ने किसानले साउन सकिनै लाग्दा समेत आकाशमा बादल हेरेर बस्न बाध्य भएका छन् । असारको पहिलो साता राखेको धानको व्याड बूढो भएर फुल्न थालिसकेको किसानहरुले बताएका छन् । कृषि ज्ञान केन्द्र घोराहीका अनुसार दाङ जिल्लामा अझै सात हजार चार सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन सकेको छैन । दाङका ६० प्रतिशत नागरिकको जीवनयापनको आधार कृषि रहेको र त्यसमा मुख्य बाली धान हो । साउन महिनाको खडेरीले रोपाइँ नहुनु र रोपेको धान पनि सुख्खा लागेर उत्पादन नहुने अवस्थामा पुग्न लागेको किसानहरुले बताएका छन् ।
दाङको ३९ हजार चार सय हेक्टर क्षेत्रफलमध्ये ३१ हजार नौ सय १४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ भने अझै १९ प्रतिशत रोपाइँ हुन बाँकी छ । दाङको देउखुरी क्षेत्रका गढवा र राजपुरमा केही मात्रै धान रोप्न बाँकी रहेको घोराही, तुलसीपुर, दंगीशरण र बबई क्षेत्रका धेरै किसानले धान रोप्न नपाएको कार्यालयका सूचना अधिकृत मनोजकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार आकाशको पानीकोभरमा खेती गर्ने किसानलाई यसपटक मार परेको छ । ‘आकाशको पानीको भर पर्ने किसानले अझै धान रोप्न पाएका छैनन्’– उहाँले भन्नुभयो– ‘ब्याड बढेको भए पनि केहीले अझै रोपिरहेका छन् ।’
ढिलो रोपिएको धान नफल्ने जोखिम हुँदा हुँदै पनि केही किसानले पम्पसेटबाट सिंचाई गरेर रोपाइँ गरिरहेका छन् । धेरैजसोले अब रोपाइँ गर्दा उत्पादन लिन नसकिने भन्दै रोपाइँ नगर्ने निष्कर्षमा पुगेका छन् । रोपाइँ नभएको बाँझो खेतमा धानको विकल्प के गर्ने भन्ने विषयमा किसानहरुलाई सुझाव दिने काम पनि कसैले नगरेको किसानहरुको गुनासो छ । धानको सट्टा दलहन र तेलहन बाली लगाउन सकिने भए पनि यसतर्फ किसानलाई स्थानीय सरकारले सहयोग सुझाव दिने काम हुन नसकेको दंगीशरणका मायाराम चौधरीले गुनासो गर्नुभयो ।
अघिल्लो वर्ष असार, साउनमा बाढी आउने गरी पानी प¥यो । गत वर्ष जेठ ५ गतेदेखि परेको पानीले असोजसम्म पनि राम्रोसँग विश्राम लिएको थिएन । यस वर्ष भने जेठ, असार र साउनमै खडेरी लाग्यो । गत वर्ष जेठमा १३ दिनमा २ सय ९ मिलिमिटर पानी परेको थियो । २०७९ को जेठमा ९ दि मात्रै पानी प¥यो त्यो पनि १ सय ८० मिलिमिटर । जल तथा मौसम विज्ञान कार्यालय घोराही दाङकी फिल्ड इञ्चार्ज श्रेया रिजालकाअनुसार गत वर्ष असार महिनामा २३ दिनको अवधिमा आठ सय ५ दशमलव पाँच मिलिमिटर पानी परेको थियो । असार १ गतेदेखि १३ गतेसम्म र २० देखि ३१ गतेसम्म झरी लागेको थियो । गत वर्षको साउन महिनाभरमा १९ गते १ दिन मात्रै पानी परेन । यो वर्ष खडेरीमै साउन सकिन थालेको छ ।
उत्पादनमा असर
पर्याप्त पानी नपर्दा दाङ जिल्लामा धान उत्पादन घट्ने भएको छ । समयमै किसानले धान रोप्न नपाउँदा र रोपेको धानमा पर्याप्त पानी नहुँदा उत्पादन घट्ने कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रुद्रमणि पौडेलले पानी पर्याप्त नहुँदा र समयमा मल नपाएका कारण धान उत्पादन घट्ने आँकलन गरिएको जानकारी दिनुभयो । ‘पोहोरको भन्दा रोपाइँ कम भएका कारण कम उत्पादन हुने अवस्था यसै देखियो’– उहाँले भन्नुभयो– ‘रोपेको धानमा पनि पानी पर्याप्त छैन, मल समयमा पाएन ।’ केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेले यो वर्ष १५ प्रतिशत धान उत्पादनमा ह्रास आउने बताउनुभयो । सरकारी तथ्यांक अनुसार दाङमा २०७२ साल देखि २०७८ सम्म समान उत्पादन भएको देखिन्छ । २०७२÷०७३ सालमा दाङमा ३७ हजार नौ सय आठ हेक्टर क्षेत्रफलमा एक लाख ४९ हजार छ सय ५० मेट्रिक टन धान उत्पादन भएको थियो ।
२०७३÷०४ मा ३७ हजार आठ सय हेक्टर क्षेत्रफलमा एक लाख ६७ हजार छ सय आठ मेट्रिक टन धान उत्पादन भयो । आर्थिक वर्ष २०७४÷०७५ मा ३७ हजार सात सय १० हेक्टर क्षेत्रफलमा एक लाख ६१ हजार नौ सय ९५ मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ । त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६ मा अघिल्लो वर्षकै जति क्षेत्रफलमा एक लाख ६८ हजार ५८ मेट्रिक टन धान उत्पादन भयो । उही क्षेत्रफलमा आर्थिक वर्ष २०७६÷०७७ मा एक लाख ६७ हजार पाँच सय ८९ दशमलव सात मेट्रिक टन धान उत्पादन भयो । आर्थिक वर्ष २०७७÷०७८ मा दाङमा ३९ हजार हेक्टर क्षेत्रफलमा एक लाख ६७ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको रेकर्ड छ ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा एक लाख ४५ हजार छ सय ९१ दशमलव ७५ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्षको बेमौसमी वर्षाले २७ हजार मेट्रिक टन धान नष्ट गरेको थियो । जिल्लाको दुई लाख ९५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा ६५ हजार नौ सय ८० हेक्टर क्षेत्रफल खेतियोग्य रहेको र ६५ हजार नौ सय ८० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सरकारी तथ्याङ्क छ । दाङमा ५८ हजार आठ सय ६७ हेक्टर क्षेत्रफल सिंचाई हुने जमिन रहेकोमा बाह्रै महिना सि)चाई हुने १९ हजार छ सय ५६ हेक्टर क्षेत्रफल मात्रै छ । ३९ हजार दुई सय ११ हेक्टर मौसमी सिंचाई हुने क्षेत्र रहेको छ । नयाँयुगबोध दैनिकबाट