Chauthoanga - Nepali News Media
बालुवाटारमा सत्तागठबन्धनको कार्यदल बैठक

काठमाडौं : सत्ता गठबन्धनले प्रदेश र संघीय निर्वाचनमा सिट बाँडबाँटबारे मोडालिटी बनाउन गठन गरेको  कार्यदलको बैठक अहिले बसीरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक जारी रहेको छ । साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिनेगरी गठबन्धनले कार्यदल बनाएको हो ।

बैठकमा गठबन्धनको सिट बाँडफाँटको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदल सदस्यका एक सदस्यले बताउनुभयो । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँटबारे छलफल गर्ने कार्यदलको तयारी छ । कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहनुभएको छ ।

यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहनुभएको छ ।

प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३०  निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ ।  प्रतिनिधिसभामा  काँग्रेसले कम्तीमा ९५ सिट र अन्य दलले ८० देखि ८५ सिट दाबी गरेका छन् ।सत्ता गठबन्धनले साउनभित्रमा सिट बाँडफाँटको खाका तयार गर्न गठन गरेको कार्यदलको यो पहिलो बैठक हो।

 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १७:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको