Chauthoanga - Nepali News Media
स्वतन्त्र उम्मेदवारहरु पनि छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारीमा

काठमाण्डौँ  :  पालिका तह चुनावमा स्वतन्त्र उम्मेदवारको रुपमा भाग लिएका र  प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पनि उम्मेदवारी दिने घोषणा गरेकाहरुले एउटा छुट्टै राजनीतिक दल घोषणा गर्ने तयारी गरेका छन् ।

आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका हुन् । दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल गर्न त्यो विशेष भेला आयोजना गरिएको काठमाण्डौ महानगरपालिकाका स्वतन्त्रतर्फ मेयरका उम्मेदवार बन्नु भएका सुमन सायमीले बताउनु भयो ।

उहाँले दल ठिक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि वहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरुबीच छलफल सुरु गरिएको बताउनु भयो ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा स्वतन्त्रहरुको पनि एउटा दलको आवश्यक्ता छ भन्ने निष्कर्षका साथ आफू त्यो विशेष भेलामा सहभागी भएको स्वतन्त्र उम्मेदवार रविन्द्रकुमार श्रेष्ठले बताउनु भयो । उहाँले प्रदेश र संघको निर्वाचनमा अनिवार्य दल आवश्यक पर्ने भएकाले भेलाले सो विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने बताउनु भयो ।

देशभरका पालिका तह चुनावमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरु सो विशेष भेलामा सहभागी भएका छन । ‘स्वतन्त्र उम्मेदवारी अभियान’को नाममा आयोजना गरिएको सो विशेष भेलाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जाँदा नयाँ दल बनाएर जाने निष्कर्ष निकाल्ने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १५:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको