काठमाण्डाैः नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने श्रृङ्खला अघि गर्ने भनेको क्यानडा भ्रमण भिसा र उडान टिकटका कारण अनिश्चित भएको छ।
कार्यतालिका अनुसार नेपाल आज क्यानडा भ्रमणमा निस्कने कार्यक्रम थियो । नेपालले क्यानडासँग दुई टी–२० र दुई एक दिवसीय अभ्यास खेल खेल्ने यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको थियो । तर भिसा आउन समय लागेपछि अभ्यास खेल अन्योलमा परेको छ ।
क्यानका म्यानेजर विनोद दासले टी–२० अभ्यास खेल तोकिएको समयमा नहुने पक्का भएको बताएका छन् । आईसीसी विश्व कप लिग–२ को त्रिदेशीय श्रृङ्खलामा नेपाल, स्कटल्यान्ड र नामिबिया रहेका छन् । नेपाल १६ खेलमा ७ मा जित र ८ मा हारका साथ १५ अङ्कसहित पाँचौँ स्थानमा छ ।
यो श्रृङ्खला असार २७ देखि सुरु हुनेछ । नेपालले असार २७ र ३२ गते नामिबियासँग तथा २९ गते र साउन १ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ ।