
कमिरेचौर -दाङको बंगलाचुलीमा पाँचौ राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बंगलाचुली गाउँपालिकाको आयोजना तथा महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारीको व्यवस्थापनमा रनिङ सिल्ड सुरु भएको हो ।
प्रतियोगिता बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगरको प्रमुख आतिथ्यता र बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको विशिष्ट आतिथ्यमा रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो । खेलकुद प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले बंगलाचुलीको समग्र सम्भावनाबारे प्रकाश पार्दै भौतिक, सामाजिक र सांस्कृतिक विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो।
उहाँले खेलकुदको राष्ट्रिय महत्व औंल्याउँदै शिक्षा क्षेत्रको विकाससँगै खेल क्षेत्रको प्रवर्द्धन पनि अनिवार्य रहेको बताउनुभयो। उहाँका अनुसार, खेलकुद मात्र शारीरिक तन्दुरुस्तीका लागि नभई अनुशासन, एकता र नेतृत्व विकासका लागि पनि महत्वपूर्ण रहेको छ।
बंगलाचुलीको भौगोलिक विशेषता फरक रहेको उल्लेख गर्दै सभामुख घर्तीले यहाँको स्थानीय उत्पादनलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। स्थानिय स्तरमै रोजगारी सिर्जना गर्न सकिने भएकाले कृषि, पर्यटन तथा उद्यमशीलतालाई प्रवर्द्धन गर्न सरकार, जनप्रतिनिधि तथा स्थानीय समुदायको साझा प्रयास आवश्यक रहेको उहाँको धारणा थियो।
देशको समग्र अवस्थालाई सुधार गर्नका लागि संघीय, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउँदै उहाँले तिनै तहका सरकार र जनप्रतिनिधिहरूले जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तर उकास्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले प्रतियोगिता बंगलाचुलीका लागि महत्वपूर्ण अवसर रहेको बताउनुभयो। उहाँले खेलकुदले युवाहरूलाई अनुशासित बनाउनुका साथै उनीहरूको भविष्य निर्माणमा सहयोग पुर्याुउने विचार व्यक्त गर्नुभयो। साथै, गाउँपालिकाले शैक्षिक एवं खेलकुद क्षेत्रको विकासका लागि आवश्यक नीतिहरू ल्याउने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले बंगलाचुलीको खेलकुद संगै विभिन्न क्षेत्रको विकासमा गाउँपालिका लागिपरेको बताउनुभयो । उहाँले खेलकुद गतिविधिहरूले स्थानीय व्यवसाय तथा पर्यटन प्रवर्द्धन गर्न सक्ने भएकाले खेलकुद क्षेत्रलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रवक्ता एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा,सामाजिक विकास समितिका संयोजक एवं कार्यपालिका सदस्य गणेशविश्वकर्मा, लगाएतले बोल्नुभएको थियो ।
रनिङ सिल्ड प्रतियोगितामा बंगलाचुलीका ६ वटा माध्यमिक विद्यालयहरु महेन्द्र माध्यामिक विद्यालय स्युजा, सुधा माध्यमिक विद्यालय झेलनेटा, माध्यामिक विद्यालय भेडाबारी मुलाबारी, सरस्वती माध्यामिक विद्यालय जवरकोट, खड्ग माध्यामिक विद्यालय हाँसिपुर र प्रतियोगिता व्यवस्थापनको जिम्मा पाएको महेन्द्र माध्यमिक विद्यालय श्रीवारीको सहभागिता रहेको छ ।
सो कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद आचार्य,वडा नम्वर पाँचका अध्यक्ष लिला बहादुर घर्ती, छ का अध्यक्ष डोम बहादुर केसी,सातका अध्यक्ष गिर बहादुर थापा र आठका अध्यक्ष झविन्द्र गाहामगर, गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसी,योजना शाखा प्रमुख नुमाकान्त कालाथोकी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख ओम प्रकाश के सी, कार्यपालिका सदस्य, विभिन्न विद्यालयका प्रअ, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायत विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो । रनिङ सिल्डमा छात्रछात्रा तर्फ १४ विधाका खेलकुद प्रतियोगिता समावेश गरिएको छ। महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारीका प्रधानाध्यापक तिलकराम वलीको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको सहजिकरण महेन्द्र नमुना माध्यामिक विद्यालय श्रीवारीका शिक्षक टेक बहादुर बिकले गर्नुभएको थियो ।