
कमिरेचौर -पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एच.पि.भी. खोप सेवा सञ्चालन सम्बन्धि पालिका खोप समन्वय समितीको अभिमुखिकरण कार्यक्रम आज बंगलाचुली गाउँपालिकामा सम्पन्न भएको छ ।बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नेव बहादुर केसीले पाठेघरको मुखको क्यान्सर,रोकथामका उपायहरू ,एच.पि.भी. खोप अभियान २०८१ सञ्चालन कार्यनीति , बहस पैरवी, प्रचार,प्रसार तथा सामाजिक परिचालन,खोप समन्वय समितिका पदाधिकारीहरूको भूमिका लगाएतको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, आर्थिक प्रशासन शाखा प्रमुख नारायण प्रसाद आचार्य, बंगलाचुली अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, अस्पतालका सिअहेव दामोदर पुलामी, सिअहेव धनबहादुर पुन,सिअनमी तुलसा विष्ट पुन, सि अहेव पुतला घर्ती केसी , स्टाफ नर्स सम्झना कार्कीपरियार, अनमी दुर्गा क्षेत्री, अनमी गिता केसी पुन लगाएतको सहभागिता रहेको थियो ।
यस वर्ष सञ्चालन गरिने एच.पि.भी. खोप अभियानमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई यो खोप दिईदैछ । सोही तयारी स्वरूप बंगलाचुली गाउँपालिकामा पनि यसलाई व्यापकता दिईएको छ । बंगलाचुली गाउँपालिकामा यस वर्ष विद्यालयमा अध्यनरत र विद्यालय वाहिरका गरी जम्मा १३ सय ८ जना छात्रा तथा किशोरीहरुलाई एच.पि.भी. खोप प्रदान गिरिने छ ।
चिकित्सकहरुका अनुसार नेपालमा हरेक वर्ष २, हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने अनुमान गरिएको छ । भने हरेक वर्ष १,३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ । जसअनुसार औसतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ । महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ र क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण रहेको यस क्षेत्रका विज्ञयहरुको भनाई छ ।