दाङ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन(LISA)को नतिजामा बंगलाचुली गाँउपालीका प्रथम भएको छ ।
सोही सुचकका आधारमा आ.व २०८०/०८१ मा गरिएको मूल्याङ्कनमा दाङमा सबै भन्दा धेरै ९६ अङ्क ल्याएर बंगलाचुली गाँउपालिका प्रथम भएको हो । आ.व २०७९/८० मा ८८.७५ अङ्क ल्याएर जिल्लामा याे पालिकाले चाैथाे स्थान प्राप्त गरेकाे थियाे । गतवर्षकाे तुलनामा पालिकाले अहिले ७.२५ अङ्क बढि प्राप्त गरेकाे छ।
सार्वजनिक स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजामा घोराही उपमहानगरपालिका दोस्रो भएको छ । जसअनुसार घोराही उपमहानगरपालिकाले ९५ अङ्क प्राप्त गरेको छ । गतवर्षपनि जिल्लाको दोस्रो स्थानमा रहेको घोराही उपमहानगरपालिकाले ९१ अङ्क प्राप्त गरेको थियो ।गतवर्षकाे तुलनामा घाेराहीले ४ अङ्क सुधार गरेकाे छ ।
नतिजा अनुसार ८९.७५ अंक ल्याएर राजपुर गाउँपालिका तेस्रो भएको छ । यस्तै दंगिशरण गाँउपालीका ८९.५ अङ्क प्राप्त गरेर चाैथाे भएको छ । दंगिशरणले गतवर्ष ८५ अङ्क प्राप्त गरेकाे थियाे । गतवर्षकाे तुलनामा याे वर्ष ४.५ अङक सुधार गरेकाे छ ।
यस्तै दाङका ६ पालिकाको अहिलेसम्म नतिजा सार्वजनिक भएको छैन । नतिजा सार्वजनिक नभएका स्थानीय तहमा तुलसीपुर उपमहानगरपालिका,लमही नगरपालिका,बबई गाउँपालिका,शान्तिनगर गाँउपालिका,राप्ती गाउँपालिका र गढवा गाँउपालिका रहेका छन। स्थानीय तहको सबल र दुर्बल पक्षहरूको विश्लेषण गर्ने प्रयोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी आ-आफ्नो वेबसाइट र सूचनापाटी मार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।
मन्त्रालयका अनुसार शासकीय प्रवन्धमा ९ अङ्क,संगठन तथा प्रशासनमा ८,वार्षिक वजेट तथा योजना व्यवस्थापनमा ११ ,वित्तिय एवं आर्थिक व्यस्थापन ११,सेवा प्रवाह १६,न्यायीक कार्यसम्पादन ७,भौतिक पूर्वाधार १३,सामाजिक समावेशीकरण १०,वातावरण संरक्षण तथा विपद व्यवस्थापन ९,सहकार्य र समन्वयमा ६ अंक सहित जम्मा १ सय पूर्णाङ्कमा मूल्याङ्कन गर्ने गरिएको छ ।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतका कानूनले स्थानीय तहको कार्य जिम्मेवारी तोकेका विषय, कार्यविधि र उपलब्धीका बारेमा लेखाजोखा गर्न स्वमूल्यांकन गर्ने गरिएको छ ।
संघीय मामिला मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गर्ने प्रणाली २९ माघपछि बन्द हुने भन्दै स्थानीय तहहरूलाई सूचित समेत गरेको छ । ‘नतिजा सार्वजनिक गर्न बाँकी स्थानीय तहले सो समयभित्र स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गरी सुशासन कायम गर्ने कार्यलाई प्राथमिकता दिन सचिवस्तरको निर्णयानुसार अनुरोध छ,’ मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ ।