Chauthoanga - Nepali News Media
संघीय संसदको विभिन्न ४१ संसदीय मैत्री समूह गठन

काठमाडौँ- संघीय संसदले विभिन्न ४१ संसदीय मैत्री समूह गठन गरेको छ । आज सिंहदरबारमा सांसद मैत्री समूहको संयुक्त बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विभिन्न ४१ देशका लागि संसदीय मैत्री समूहमा रहेका सांसदको नाम पढेर सुनाएका थिए । सो क्रममा सभामुख घिमिरेले तीन वटा संसदीय मैत्री समूहको संयोजक तोक्न बाँकी रहेको जानकारी दिनुभयो । 

उहाँले संसदीय मैत्री समूहका संयोजकहरूले सम्बन्धित देशसँग संसदीय सम्बन्ध बढाउन भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । संसदीय मैत्री समूह गठनमा ढिलाइ भएको भन्दै उनले अब सक्रिय रूपमा अघि बढाउन समेत सुझाव दिनुभयो । सभामुख घिमिरेले संसदीय मैत्री समूहसम्बन्धी कार्यविधि बनाएर व्यवस्थित गरिने बताउनुभयो ।

उहाँले संघीय संसद्का १६ वटा संसदीय समूहलाई व्यवस्थित गर्न नसकेको अवस्थामा संसदीय मैत्री समूहलाई सचिव राखेर व्यवस्थित गर्ने कुरा सम्भव नरहेको बताउनुभयो ।नेपाल–अमेरिका संसदीय मैत्री समूहको संयोजकमा कांग्रेस सांसद डा प्रकाशशरण महत रहेका छन् । त्यस्तै अष्ट्रेलियाको संयोजकमा गगन कुमार थापा, फ्रान्सको संयोजकमा विश्व प्रकाश शर्मा, बेलायतको संयोजकमा बिराज भक्त श्रेष्ठ, रुसको संयोजकमा रघुजी पन्त, चीनको संयोजकमा नारायणकाजी श्रेष्ठ रहनुभएको छ । 
 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको