Chauthoanga - Nepali News Media
सिमान्तकृत समुदायको हरेक क्षेत्रमा समान पहुँच सुनिश्चितः मुख्यमन्त्री आचार्य

बर्दिया-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियाको बाँसगढीमा थारु सांस्कृतिक केन्द्रको नव निर्मित भवनको उद्घाटन गर्नुभएको छ । प्राचीन सृजनशिल आदिवासी समाज रेडियो गुर्वावा एफ.एमले निर्माण गरेको सांस्कृतिक भवनको अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भपारेर मुख्यमन्त्री आचार्यले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले सिमान्तकृत तथा पिछडिएको वर्गको हरेक क्षेत्रमा समान पहुँचकालागि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमहरुलाई समावेशी बनाएको बताउनुभयो । 

प्रदेश निजामती सेवामा थारु समुदाय तथा अन्य समुदायलाई केन्द्रित गरेर आरक्षणको व्यवस्था गरेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो  ।‘प्रदेश सरकारले बनाएका कानुनहरुले सिमान्कृत तथा पिछडिएको वर्गको समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘लुम्बिनी प्रदेशमा १४ प्रतिशतको हाराहारीमा थारु समुदाको जनसंख्या रहेको छ । हामिले थारु समुदायको निजामती सेवामा १३ प्रतिशत आरक्षणको व्यवस्था गरेका छौं ।’ प्रदेश सरकारले समाज रुपान्तरणको अभियानलाई अघि बढाउन नीति तथा कार्यक्रमहरुलाई समेत जोडेर लगेको सभामा जानकारी दिनुभयो । ‘यो समाज रुपान्तरणको अभियानलाई व्यापक बनाउन जरुरी छ । प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई सोही अनुसार अघि बढाएको छ’उहाँले भन्नुभयो भने,‘यसले सामाजिक सद्भावलाई अझैं बढाउने छ । हामीले परिकल्पना गरेको समुन्नत समाज निर्माणको लागि आजको दिन कोशेढुंगा सावित हुनेछ ।’ 

सिमान्तकृत तथा पिछडिएको वर्गको पक्षमा सरकार रहेको बताउदै उनले आगामी दिनहरुमा समुदायलक्षित अभियानहरु सञ्चालन गरिने बताउनुभयो । सम्वोधनको क्रममा मुख्यमन्त्री आचार्यले अव्यवस्थीत बसोवासी तथा भूमिहिन दलित, भूमिहिन सुकुम्वासीको समस्या समाधान गर्न तीन तहकै सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाएर लगेको जानकारी दिनुभयो । प्राचीन सृजनशिल आदिवासी समाजका अध्यक्ष सार्जने कामीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । 

स्थानीय टीकाराम पौडेलले दान दिएको डेढ कठ्ठा जग्गा र डेनमार्कका फ्लेमिङ टपसोयले  ५५ लाख, समाजको २६ लाख, लुम्बिनी प्रदेश सरकारको २० लाख र बासगढि नगरपालिकाको १५ लाख गरि कुल एक करोड १६ लाख रुपियाँको लागतमा भवन निर्माण भएको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको