Chauthoanga - Nepali News Media
राष्ट्रिय सभा सदस्य निर्वाचन पछि संविधान संशोधन हुन्छ :महासचिव पोख्रेल

देउखुरी, - नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले संविधान संशोधनको काम डेढ बर्षपछि हुने राष्ट्रियसभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताउनुभएको छ । दाङको लमहीमा आइतबार नेकपा (एमाले) क्षेत्र १ समन्वय कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले सो कुरा बताउनुभएको हो । 

संविधान संशोधनको काम उचित समयमा सुरु गरिने उहाँको भनाइ छ । ‘हामी दुईटा राजनीतिक दल मिल्नुको कारण सरकार मात्र होइन, राजनीतिक स्थायित्वको आधार तयार गर्न संविधान र कानुनमा सुधार गर्नेगरी दुई ठूला दलको विचमा समिकरण बनेको हो’ उहाँले भन्नुभयो, “राष्ट्रिय सभामा हाम्रो पक्षको दुई तिहाइ छैन । दुई तिहाइ नपुग्दासम्म संविधान संशोधनको एजेन्डा अघि बढ्न सक्दैन । संविधान संशोधनको बिषयमा माओवादीसँग कुरा मिल्ने स्थिति छैन । डेढ बर्ष पछाडि राष्ट्रिय सभाको निर्वाचनपछि त्यहाँको संरचना बदलिन्छ, त्यसपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ ।”

महासचिव पोख्रेलले एमालेलाई आगामी ८४ को निर्वाचनमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने दिशामा अहिले देखि नै सशक्त भएर खट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले अहिले ठुला दुई दलको विचमा भएको समिकरण मिलेर चुनाव लड्ने नभइ एक्लाएक्लै प्रतिस्पर्धा हुने बारेमा स्पष्ट रहनुपर्ने बताउनुभयो । 

हालै सम्पन्न उपनिर्वाचनमा रुकुमपूर्वमा भएको जुन प्रकारको तालमेल सही नभएको भनाइ महासचिव पोख्रेलको भनाइ छ । “अहिले हामी कांग्रेससँग मिलेका छौं । तर, चुनावको बेलामा हामी एक्लाएक्लै भिड्ने हो । अब पूर्वी रुकुममा साथीहरुले के गरे, एमालेको उम्मेदवार कांग्रेसको चुनाव चिन्हमा लड्ने कुरा गल्ती नै हो । त्यसो गर्नु हुदैन्थ्यो । ठाउँबिशेषमा तालमेल गर्ने कुरा स्थानीय बिशेषताको आधारमा हुन पनि सक्ला । तर, आफ्नो–आफ्नो चुनाव चिन्हमा लड्नु पर्दछ” “एमाले–कांग्रेसजस्ता पार्टी अर्काको चुनाव चिह्नमा आफ्ना उम्मेदवार खडा गर्ने कुरा चाहिँ उचित कुरा होइन । त्यो गलत कुरा हो । वास्तवमा त्यहाँका साथीहरुले गल्ती गरेका हुन् । त्यो गल्तीलाई पार्टीले आलोचना गरेको छ । भबिस्यमा यसप्रकारको काम हुने छैन ।”

उपनिर्वाचनको नतिजाले एमालेलाई कमजोर नभइ थप सुदृढ बनाएको दावी उहाँको छ । यस्तै, उहाँले पार्टी नेतृत्वका बिरुद्धमा भइरहेका कुप्रचारका बिरुद्ध दृढतापूर्वक उभिन आह्वान गरेका गर्नुभयो । “भ्रमपूर्ण सूचनालाई ‘होकि’ भनेर बस्नेकि सत्य तथ्य पत्ता लगाउन अघि बढ्ने ?” उहाँले भन्नुभयो, “जे जति कुराहरु प्रचार गरिएका छन्, ती सबै भ्रमपूर्ण हुन् । कागले कान लग्यो भनेर कागको पछि दौडने कि पहिला कान छाम्ने ? पहिला त कान छाम्नुपर्ने हो नि ।” 

गिरिबन्धु टि स्ट्रेट, कम्बोडियामा लगानीका बिषयहरुमा भ्रम छर्नेहरु अहिले समस्यामा परेको भन्दै उहाँले भ्रमको खेती गर्नेहरुलार्इ कानुनले दण्डित गर्ने बताउनुभयो । एमालेलाई कमजोर बनाउँदा आफूहरु स्थापित हुन सकिन्छ भन्नेगरी स्वतन्त्र भन्नेहरुले भ्रमको खेती सुरु गरेको टिप्पणी उहाँको छ । “षड्यन्त्रबाट आत्तिने होइन, सामना गर्ने हो । यो पार्टी कमजोर हुनेवाला छैन । विकास र समृद्धिको नेतृत्व गर्ने यही पार्टी हो” उहाँले भन्नुभयो, “पार्टीबाट अलग भएका नेताहरुलार्इ के लाग्दो हो हामी जहाँ जान्छौं, त्यहाँ ठुलो पार्टी बनाउन सक्छौं । तर, के भयो अवस्था ? सबैलाई थाहै छ नि ।”

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको