कमिरेचाैर -बङ्गलाचुली गाउँपालिका वडा नम्बर ६ रिभानका स्थानीयहरूले सिमेन्ट उद्योगहरूले आफ्ना माग पूरा नगरे खानी बन्द गर्ने चेतावनी दिएका छन् । साथै उनीहरुले गाउँपालिकामा धर्ना समेत दिने बताएका छन्। बंगलाचुली गाउँपालिका वडा नम्बर ६ रिभान गाउँका खानी पीडित स्थानीयहरूले संयुक्त रुपमा आज प्रेस विज्ञप्ति निकालेर यस्तो जानकारी गराएका छन्।
उनीहरुले बंगलाचुली गाउँपालिकाले पटकपटक खानी प्रभावित क्षेत्र रिभानका स्थानीयहरूको मागलाई सम्बोधन गर्नका लागि बैठक बसि छलफल भएको र उक्त छलफल मा भएको सहमति तथा गाउँपालिकाकाे न्यायिक समितिले गरेकाे फैसला लाई उद्योगहरूले कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने बताएका छन्।
स्थानीयहरूले संयुक्त रूपमा जारी गरेकाे विज्ञप्तिमा भनिएको छ,"बंगलाचुली गाउँपालिका वडा नम्बर ३ र ४ को थारा र तापामा सञ्चालित सम्राट र घोराही सिमेन्ट उद्योगका चुनढुङ्गा उत्खननबाट प्रभावित दामाङखोला खेतका किसानहरूले आफ्नो क्षति भएको जमिनको क्षतिपूर्ति माग गरी २०७९ जेठ २८ गते बंगलाचुली गाउँपालिकाको न्यायिक समितिमा दिएको निवेदन अनुसार पटकपटक भएको छलफल पछि २०८१ जेठ २ गतेको न्यायिक समितिको बैठकमा खानी प्रभावित क्षेत्रका पीडित किसानहरूको जमिन गएको कार्तिक मसान्त सम्म खरिद प्रक्रिया अगाडि बढाउने भनि गरेको सहमति कार्यान्वयन नभएको हुनाले २०८१ साल मंसिर २१ गतेका दिन खानी पीडितहरूको बैठक बसी २०८१ साल पुस पहिलो हप्ताभित्र खरिद प्रक्रिया अगाडि नबढेमा बंगलाचुली गाउँपालिकामा धर्नासहित खानि सञ्चालन र चुनढुंगा ढुवानीमा रोक तथा बन्द गर्ने सूचना जारी गरिन्छ साथै यसबाट पर्ने असरको सम्पूर्ण जिम्मा खानी सञ्चालक हुने व्यहोरा यही विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।"