Chauthoanga - Nepali News Media
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै माओवादी विजयी

रुकुम पूर्व — रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै माओवादी विजयी भएको छ । निर्वाचन आयोगका अनुसार उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढा विजयी हुनुभएको छ । नरपुराले ३ हजार ६ सय २७ मत पाउनुभएको छ ।

कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १ सय २८ मत प्राप्त गर्नुभएको छ । कांग्रेस उम्मेदवार तुलाचन एमालेको महिला संगठनकी केन्द्रीय सदस्य हुनुहुन्छ । एमाले र कांग्रेसबीच गठबन्धन भएपछि एमालेकी नेता तुलाचन कांग्र‍ेसको चुनाव चिह्न लिएर उम्मेदवार बन्नुभएको हो ।

पालिकाभरी कुल ११ हजार १ सय ८० मतदाता रहेकोमा ५ हजार ९ सय ३१ खसेकोमा ५ हजार ७ सय ५५ मत सदर हुँदा १ सय ७६ मत बदर भएको छ । गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा यसअघि माओवादी केन्द्रकै तर्फबाट उम्मेदवार भएका पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए ।

यसपल्टको उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचनलाई र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार बनाएको थियो ।

वडाध्यक्ष पदमा भने उम्मेदवारी दिएका एमाले र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि यसअघि नै माओवादी केन्द्रका जगत घर्ती सर्वसम्मत निर्वाचित भईसक्नुभएको छ ।

उपाध्यक्षमा निर्वाचित नरपुरा वुढा गाउँ तहमा रहेका माओवादी केन्द्रमा सक्रियताका साथ काम गरिरहेको व्यक्ति भएको माओवादी जिल्ला संयोजक कुरमारी बरालले बताउनुभयो । 

 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको