कमिरेचाैरः घोराही सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगको कच्चा पदार्थ चुनढुङ्गा ढुवानी गर्ने सडकखण्ड तापा चोकदेखि तापासम्मको सडक मर्मतको माग राख्दै बंगलाचुलीका स्थानीयले आज ज्ञापनपत्र बुझाएका छन्। स्थानीयले कालोपत्रे गरेको सडकको अवस्था बिग्रिएको र मर्मत कार्य नगरेको भन्दै तत्काल सडकको अवस्था सुधार गर्न र कालोपत्रे गर्न माग गर्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरलाई ज्ञापनपत्र बुझाएका हुन् ।
दाङको बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ पन्थटोलस्थित प्रगतिशील टोल विकास संस्थाको अगुवाइमा विभिन्न माग राख्दै बङ्गलाचुली गाउँपालिकामा ज्ञापनपत्र बुझाईएकाे हाे । टोल विकास संस्थाका अध्यक्ष टिकापुन मगर डाँगीको अगुवाइमा बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरलाई ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्र बुझ्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरले जनताको मागलाई सम्बोधन गर्न र सडकको कालोपत्रे गर्नको लागि सम्बन्धित निकायलाई पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष पुनले जनताको समस्यालाई आफूले नजिकबाट नियालेको र उक्त समस्या समाधान गर्नको लागि सिमेन्ट उद्योगहरूलाई सडक मर्मतको लागि काम अगाडि बढाउन निर्देशन समेत दिइसकेको बताउनुभयो ।
अध्यक्ष पुनले जनताको नाम भजाएर जनताको भावनामाथी कसैले पनि खेलबाड नगर्न सुुझाव समेत दिनुभयो ।
सो अवसरमा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, आर्थिक प्रशासन शाखा प्रमुख नारायणप्रसाद आचार्य, बंगलाचुली गाउँपालिका वार्ड नम्बर ४ पन्थटोलका स्थानीय अगुवाहरू जागेश्वर रावत, घनश्याम महरा ,टिकाराम डाँगी, टोपाराम राम अधिकारी ,भीमनिधि तिवारी लगायतको सहभागिता रहेको थियो।