कमिरेचौर- यही कार्तिक २७ गते हरिबोधनी एकादशीको दिन बङ्गलाचुली लेकमा आयोजना हुन लागिरहेको भैलो महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय कला संस्कृतिको संरक्षण, पर्यटकीय क्षेत्रको विकासका लागि बंगलाचुली गाउँपालिकाले आयोजना गरेको स्थानीय भैलो महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि तयारी व्यापक पारिएको हो ।
भैलो महोत्सव व्यवस्थापन समितिले भौलोका लागि डेन्टिङपेन्ट, महोत्सव स्थलमा स्टल निर्माण,वाटो निर्माणको काम गरीसकेको छ । भोली मन्च व्यवस्थापनका साथै अन्य कामहरु गरिने छ । साथै भैलो महोत्सवका लागि निमन्त्रणा पठाउने, भैलो महोत्सवको प्रचारप्रसार गर्ने कामहरु व्यापक बनाईएको भैलो महोत्सव व्यवस्थापन समितिका संयोजक लिला बहादुर घर्तीले जानकारी दिनुभयो । भैलो महोत्सवमा २४ वटा भैलो समूहले आफ्नो भैलो प्रस्तुती देखाउने गरी आफ्नो टिम दर्ता गराई सकेको भैलो महोत्सव व्यवस्थापन समितिका संयोजक घर्तीले जानकारी दिनुभयो ।
यसैविच बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले आज महोत्सव स्थलको अवलोकन गर्नुभएको छ । भैलो महोत्सवको तयारीको अवस्थाको बारेमा जानकारी लिनका लागि उहाँहरुले स्थलगत अनुगमन गर्नुभएको हो ।