Chauthoanga - Nepali News Media
दाङमा भयो बहुमूल्य केशर उत्पाद

दाङ- आफूसँगैका धेरै साथीहरुले विदेश जान नहौस्याएका होइनन् । नेपालमा केही छैन त्यसैले लाइफ सेटलमेन्टका लागि विदेश जानुपर्ने सपना केही अरु साथीहरुले अझै बुनिरहेका छन् । हुन त लाइफ सेटलमेन्टको सपना घोराही–१० नारायणपुरका विवेक अधिकारीको पनि छ तर विदेश भासिएर होइन घरमै खेतीपाती गरेर, नमूना कृषक बनेर ।

देशमै पहिलो पटक बहुमूल्य जडिबुटी केशरको इन्डोर फार्मिङ गरेर विवेकले साँच्चिकै नमूना कृषकको उदाहरण प्रस्तुत गर्नुभएको छ । प्रायः चिसो मौसममा गरिने बहुमूल्य केशर खेती विवेकले तराईमा सम्भवतः पहिलो पटक घरभित्रै केशर उत्पादन गर्न सफल हुनुभएको हो । भारतबाट विएससीएजी गरेर नेपाल फर्किनु भएका विवेकले गाउँघरमै केही नयाँ गर्ने योजनाअनुरुप बहुमूल्य केशरको ट्रायल फार्मिङ गर्नुभएको हो । संयोगले केशरको सफल उत्पादन सम्भव भएको विवेकले  बताउनुभयो ।

केशर बहुउपयोगी बहुमूल्य वनस्पति हो । समुद्र सतहबाट १५ सयदेखि २५ सय मिटरसम्मको उचाइमा यसको खेती हुन्छ । यसको खेती नेपालमा जुम्ला, डोल्पा र इलामको केही विशेष तापक्रम मिल्ने ठाउँमा मात्रै भइरहेको छ । त्यो उत्पादनले देशको माग पूरा भइरहेको छैन । कोभिड महामारीको समयकै तथ्यांक हेर्ने हो भने नेपालमा झण्डै तीन हजार किलोसम्म केशर आयात भएको छ । त्यसैले यो आयात प्रतिस्थापन गर्न र आम्दानी पनि राम्रै लिन सकिने भएकाले विवेकले केशर खेती थालेको बताउनुभयो ।

नारायणपुरस्थित घरको उपल्लो तलामा विवेकले तापक्रम व्यवस्थापनसहितको प्यानल हाउस निर्माण गर्नुभएको छ । जुन इन्डोर भर्टिकल फार्मिङ प्रविधिमा आधारित छ । उच्च चिस्यान क्षेत्रमा हुने केशर उत्पादनका लागि विवेकले आर्टिफिसियल इन्भाइरोमेन्ट क्रेट गरेर माटोविनै हावामा केशरको उत्पादन गर्न सफल हुनु भएको छ । विवेकसँग परीक्षण उत्पादन भएकाले अहिले ६४ वटा क्यारेटमा केशर उत्पादन भइरहेको छ । प्याजको गानाजस्तै देखिने केशरको बिउलाई प्लाष्टिक क्यारेटमा राखेर विवेकले केशर निकालिरहनुभएको छ । लगाएको ७ देखि १० हप्तासम्म फूल निस्कने र त्यही फूल टिपेर केशर निकाल्ने गरिन्छ । एउटै गानाबाट ३÷४ पटक टुसा निस्कन्छन् भने हरेक टुसा फुल्छ । अहिले केशर फुलेर ढकमक्क भएको छ । अहिलेसम्म चार सय ग्राम केशर निकालिसकेको विवेकले जानकारी दिनुभयो । ‘अहिलेसम्म चार सय ग्राम केशर निकालेको छु । अहिले फूल निस्किरहेको छ’– विवेकले भन्नुभयो– ‘ट्रायल फेज भएकाले ६४ क्यारेटमा खेती गरिएको छ । मलाई लाग्छ यसपटक आठ सय ग्रामसम्म निकाल्ने लक्ष छ ।’

परीक्षण खेतीकै लागि विवेकले हालसम्म २५ लाख खर्चिनुभएको छ । कस्मिरबाट बिउ ल्याएर खेती शुरु गर्नुभएका उहाँले नीमको तेलबाहेक अरु कुनै विषादी वा मलको प्रयोग गर्नुभएको छैन । शुद्ध माटो विनै शुद्ध हावा पानीमा खेती गरिएकाले उत्पादनमा पनि गुणस्तर कायम हुने आशा व्यक्त गर्नुभयो । सामान्यतयाः केशर प्रतिग्राम ५ सय देखि एक हजार दुई सयसम्म मूल्य पर्छ । भर्टिकल फार्मिङको केशर गुणस्तरीय हुनाले ग्रामकै एक हजार पाँच सयसम्म मूल्य पर्छ । सरदर एक किलो केशरलाई १० लाख रुपैयाँ पर्न जाने विवेकले बताउनुभयो । त्यसैले उहाँ केशरको उत्पादनलाई बढाउने योजनामा हुनुहुन्छ । ‘परीक्षण सफल भयो । अब खेती विस्तार गर्ने योजनामा छु’– विवेकले भन्नुभयो– ‘उत्पादित केशरको ब्राण्डिङ गरेर बेच्ने योजना छ ।’ उहाँले फूलबाट निकालेको केशरलाई टिस्यू पेपरमा राखेर छायाँमा सुकाएपछि खान योग्य हुने बताउनुभयो । उहाँले बिउका लागि माटोमै सार्ने पनि बताउनुभयो ।

आफूले लिएको ज्ञानको सदुपयोग गाउँघरमै बसेर गर्ने सोच बनाएर लाग्नुभएका विवेक अधिकारीलाई परिवारको पनि उत्तिकै सहयोग छ । घरमा हजुरआमा, बुवा, आमा, दाजु, भाउजुको पनि साथ पाउनु भएका विवेकले कृषिमै केही नयाँ गरेर देखाउने हुटहुटी भएको बताउनुभयो । ‘भारतको पञ्जावमा बाली विज्ञान पढेर आएपछि केही गर्छु भनेर लागे’– विवेकका बुवा निमकान्त अधिकारीले भन्नुभयो– ‘छोराले पढेकै विषयलाई व्यवहार र व्यवसामा जोडेकाले परिवार पनि खुशी छौं ।’

केशरको फाइदा

केशर बहुगुणी वनस्पति हो । केशरलाई दूध, मह वा पानीमा उपलब्धताको आधारमा घोलेर खान सकिन्छ । केशरको सेवनले शरीरमा ऊर्जा दिन्छ । मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । गर्भवतीलाई खुवाउँदा शिशु तन्दुरुस्त जन्मिने र आमालाई प्रसव पीडा पनि कम हुने, केशरको नियमित सेवनले अनुहारमा चमक आउने, पाचनप्रणाली राम्रो हुने, सुगर नियन्त्रण हुने र यौनशक्ति पनि बृद्धि गर्ने क्षमता केशरमा रहेको विज्ञहरुले बताएका छन् ।नयाँ युगबोध दैनिक बाट

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १३:२८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको