Chauthoanga - Nepali News Media
नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध भोली काठमाडौंमा ‘खबरदारी सभा’ गर्दै, यस्तो छ तयारी

काठमाडौं - नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध भोली शनिबार काठमाडौंमा गर्न लागेको विरोध प्रदर्शनमा ३० हजार मानिस उतार्ने भएको छ । जसका लागि अहिले त्यसको तयारी व्यापक रहेको सो पार्टीले जनाएको छ । पार्टीले सबै जनवर्गीय संगठनहरुलाई विरोध कार्यक्रममा सहभागी हुन निर्देशन दिएको छ ।

प्रदर्शनीमार्गमा हुने विरोध सभालाई माओवादी केन्द्रले ‘खबरदारी सभा’ नाम दिएको छ । यो प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिनुभयो । 

खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन् । त्यसपछि जुलुश सुरु हुने छ । सभामा सहभागीहरुले राष्ट्रिय झण्डा, पार्टीको झण्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोक्ने छन् । जुलुशको बीचमा साउण्डसिस्टम जडित तीनवटा गाडीहरु हुनेछन् । सहभागीहरुले सरकारविरुद्ध नारा लगाउने छन् ।

सो जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुनेछ । अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ ।

सभाका लागि राष्ट्रिय सभागृह अगाडिको सडकमा मञ्च तयार गरिएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाका अनुसार विरोध सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाका पालिकाहरुबाट मात्र कार्यकर्ताहरुको सहभागिता रहने छ ।
सभामा ३० देखि ३५ हजार जना सहभागी हुने अनुमान गरिएको उहाँले बताउनुभयो । ‘सुरुमा २०–२५ हजार जम्मा हुन्छन् होला भन्ने लागेको थियो, तर अहिले त्यो बढेर ३०–३५ हजार हुन्छन् हाम्रो आँकलन छ,’ सिंखडाले भन्नुभयो, ‘सकेसम्म सवारी आवागमनलाई बाधा नपुगोस् भनेर ध्यान दिएका छौं ।’

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको