दाङ - २०८० मा तुलसीपुर–१७ बनकट्टीमा १६ बिगाह क्षेत्रफलमा व्यँवसायिक रुपमा फूल खेती गर्नुभएका खेमराज शर्माले यस वर्ष फूल खेती नै गर्नुभएन । २०७९ मा १२ कट्ठामा गरेको फूल खेतीले माग धान्न नसकेपछि १६ व्गिाह क्षेत्रफलमा पाँचजनाको सहकार्यमा गरिएको फूल खेतीले घाटा मात्रै भएन, फूल खेतीबाटै हात झिक्ने गरी निराश बनायो शर्मालाई ।
‘पहिलो वर्ष १०–१२ कट्ठामा खेती गरेको खोसाखोस भयो, पु¥याउन सकिएन । नेपालगञ्जबाट ल्याएर भए पनि वितरण गरेका थियौं । त्यो देखेपछि पोहोर साल १६ विगाह क्षेत्रफलमा फूल खेती गरियो । बिक्री नै भएन घाटा खानुप¥यो’– उहाँले भन्नुभयो– ‘पाँच सय रुपैयाँ किलोसम्म बिक्री भएको फूल तिहारमा एक सय रुपैयाँ किलो दिदा पनि नबिकेर सुकेर गयो ।’ भारतीय फूललाई सरकारले अनुमति दिदा नेपाली फूल व्यवसायीलाई मार परेको उहाँ बताउनुहुन्छ । ‘पहिले आयात बन्द गरेको सरकारले तिहारको एक साताको अवधिमा खोल्दियो । हामीसँग फूल बुक गरेका व्यापारीले पनि उतैबाट किने, हाम्रो फूल नै विकेन’– उहाँले भन्नुभयो– ‘हाम्रो उत्पादन लागत नै धेरै थियो, भारतीय सस्तो प¥यो हामी मारमा प¥यौं ।’ गत वर्ष १०–१२ लाखको फूल बिक्री गरे पनि त्यतिकै मात्रामा घाटा बेहोर्नु परेपछि यस वर्ष फूल खेतीबाटै शर्माले हात झिक्नुभएको छ ।
जलजला पुष्प खेती तथा नर्सरीका प्रोप्राइटर लोकेन्द्र रोका मगरले पनि गत वर्ष भन्दा कम क्षेत्रफलमा पुष्प खेती गर्नुभएको छ । घोराही उपमहानगरपालिका वडा नं. १४ झिगौरामा पुष्प खेती गरिरहनुभएका उहाँले यस वर्ष डेढ विगाह क्षेत्रफलमा फूल खेती गर्नुभएको छ ।
‘पोहोर दुई विगाहमा फूल खेती गरेको लगानी पनि उठेन उल्टो चार लाख रुपैयाँ घाटा भयो’– उहाँले भन्नुभयो– ‘यस वर्ष कम खेती गरेको छु ।’ जिल्लामै बढी उत्पादन र दाङबाट जाने बाहिरी जिल्लामा भारतीय फूलका कारण दाङमा व्यवसायिक फूल खेती गरेका किसान मारमा परेको उहाँको भनाइ छ । ‘यहाँ पनि उत्पादन धेरै भयो, इन्डियाबाट पनि फूल आयो हाम्रो बिकेन’– उहाँले भन्नुभयो– ‘अहिले भने चितवन, बुटवल, नेपालगञ्ज, पोखरा, काठमाडौंबाट फोन आइरहेको छ ।’ उहाँले हाल माला ८० रुपैयाँ र फूलको प्रति केजी चार सय रुपैयाँ मूल्यमा बिक्री गरिरहेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा १० कट्ठा क्षेत्रफलमा पुष्प खेती गर्नुभएका दिपेन्द्र वलीको फूल पनि पोहोर बिक्री भएन । ‘६०÷७० प्रतिशत खेर गयो, घाटा खाइयो’– उहाँ भन्नुहुन्छ– ‘यस वर्ष एक विगाह क्षेत्रफलमा फूल खेती गरेको छु, हेरौं के हुन्छ ।’ राप्ती गाउँपालिका–३ का धर्मबहादुर बोहराले अहिले दुई कट्ठा क्षेत्रफलमा फूल खेती गर्नुभएको छ । गत वर्ष बिक्री नभएपछि उहाँले पनि यस वर्ष फूल खेतीको क्षेत्रफल घटाउनुभएको हो । ‘पोहोर आठ कट्ठामा खेती गरेको तीन लाख रुपैयाँ घाटा भयो, अहिले त आँटै आएन र दुई कट्ठामा मात्रै फूल खेती गरेका छौं’– उहाँले भन्नुभयो– ‘पोहोर उत्पादन राम्रो भयो तर बिक्री नै भएन । नेपाल सरकारले विदेशी फूललाई महत्व दियो, स्थानीय सरकारले हामीलाई उपेक्षा ग¥यो ।’
खेमराज, लोकेन्द्र र धर्म जस्तै फूल खेती गरिरहेका धेरै किसानले गत वर्ष घाटा ब्यहोरेपछि यस वर्ष फूल खेतीको क्षेत्रफल नै तीन गुणाले घटेको छ । फूल खेतीको क्षेत्रफल घटेसँगै उत्पादन घट्ने आँकलन पनि गरिएको छ । गत वर्ष जिल्लाभर करिब २४ विगाह क्षेत्रफलमा सयपत्री फूल खेती गरिएकामा यस वर्ष करिब छ विगाह क्षेत्रफलमा मात्रै व्यावसायिक रुपमा फूल खेती भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो । उहाँले तीन गुणाले फूल खेतीको क्षेत्रफल घटेको बताउनुभयो । बजारलाई ध्यानमा नराखेर उत्पादन गर्दा र भारतीय फूलसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानको आकर्षण यस वर्ष घटेको उहाँको भनाइ छ । ‘पोहोर उत्पादन पनि धेरै भयो बजारलाई ध्यान नदिएरै व्यवसायी फूल खेतीमा लागे भने भारतीय फूल सस्तो हुँदा प्रतिस्पर्धा पनि हुन सकेन’– उहाँले भन्नुभयो– ‘किसान घाटामा जानु भनेकै बजारीकरणको कारण हो ।’
कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार गत वर्ष तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा १६ विगाहमा फूल खेती गरिएको थियो भने तुलसीपुर–१५ मा १० कट्ठा र अन्य क्षेत्रको समेत गरी तुलसीपुरमा १८ बिगाहा क्षेत्रफलमा फूल खेती थियो । घोराही उपमहानगरपालिकामा करिब दुई विगाह, दंगीशरण गाउँपालिका र राप्ती गाउँपालिकामा १०÷१० कट्ठा, गढवा गाउँपालिकामा करिब पाँच कट्ठा क्षेत्रफलमा र बाँकी फाटफुटसमेत गरी फूल खेती गरिएको क्षेत्रफल २४ बिगाह थियो । यस वर्ष भने जिल्लाभरमा जम्मा छ बिगाह क्षेत्रफलमा मात्रै फूल खेती भएको कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिनुभयो ।नयाँयुगबोध दैनिकबाट