Chauthoanga - Nepali News Media
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । 

पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताउनुभयो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।

सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिइसकेको छ । पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुनुहुन्छ ।  उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक रहनुभएको थियो ।  गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गर्नुभएको हो ।

जोशी २०७८ मा गोर्खा मिडियाबाट अलग भएको देखिएको छ । लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग हुनुभएको हो। उहाँहरू त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । प्रहरीसँगको बयानमा जोशीले आफ्नो घर धितो राख्न खोजेपछि कुरा नमिलेको र त्यसपछि गोर्खा मिडियाबाट अलग भएको बताउनुभएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको