Chauthoanga - Nepali News Media
दाङको बंगलाचुलीमा प्रथम खेतुलाल स्मृति प्रतियोगिता सुरु

कमिरेचौर - बंगलाचुलीमा प्रथम खेतुलाल नेपाली (सुरज) स्मृति कप २०८१ खुला क्रिकेट प्रतियोगिता सुरु भएको छ । बंगलाचुली गाउँपालिकाको वडा नम्बर ४ जुम्लेपानी गढीलेक खेल मैदानमा आजदेखि प्रतियोगिता सुरु भएको छ ।  काभ्रेली एकता समाज दाङको आयोजनामा स्वर्गीय खेतुलाल नेपाली सुरज प्रथम स्मृति कप २०८१ खुला क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन बंगलाचुली गाउँपलिका अध्यक्ष तुल्सीराम पुनगरले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले भौतिक विकाससँगै मानवीय विकासका लागि शिक्षा, खेलकुदलगायत क्षेत्रमा गाउँपालिकाले लगानी गर्दै आएको बताउनुभयो । उहाँले स्वस्थ नागरिक उत्पादनमा खेलकुदको महत्त्वपूर्ण भूमिका रहने हुँदा युवाहरुलाई खेल क्षेत्रमा लाग्न यस प्रकारका प्रतियोगिता सहयोगी हुने बताउनुभयो ।

युवाहरु गलत बाटोमा लाग्नबाट जोगाउन सबैले सकारात्मक भावनाको विकासमा ध्यान दिनुपर्नेमा भन्दै अध्यक्ष पुनले खेलसँगै स्वास्थ्य र वौद्धिक विकासमा खेल गतिविधिले भूमिका खेल्ने हुँदा सबैले साथ सहयोग गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा पालिकास्तरीय टीम तयार पार्ने पालिकाले योजना बनाएको भन्दै पहाडी पालिकाका रुपमा रहेको बंगलाचुलीमा पनि क्रिकेट खेल विकासका लागि पूर्वाधार तयार पारिएको बताउनुभयो । यसका लागि गढीलेकमा खेल मैदान बनाउन प्रदेश सरकारसँगको सहकार्यमा सवा करोड लगानी भइरहेको बताउनुभयो।

उहाँले पालिकाले भलिबल, फुटबल, क्रिकेटलगायत खेलमा आफुहरुले विशेष ध्यान दिएको भन्दै खेलाडीलाई अनुशासनका साथ खेलकुदमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले खेललाई माया गर्ने साथीको सम्झनामा खेल आयोजना गरेर उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले पालिकाले पनि भौतिक विकाससँगै मानवीय विकासमा पालिकाले ध्यान दिएको भन्दै अपेक्षा अनुसार काम हुन नसकेपनि प्रयास जारी रहेको बताउनुभयो । युवाहरुले अरुका कुरा सुनेर धारणा बनाउनेभन्दा आफु सिर्जनशील हुनुपर्ने बेला भएको रचनात्मक काममा जुट्न युवाहरुलाई अपिल समेत गर्नुभयो ।

सामाजिक सञ्जाल रंगाउनेभन्दा सिर्जनात्मक काममा युवाको भुमिका हुनुपर्ने उहाँको भनाइ थियो । दुई दिन चल्ने प्रतियोगितामा विभिन्न १० वटा क्लवको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेता टिमले २० हजार तथा उपबिजेता हुनेले दश हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।त्यसैगरी म्यान अफ द सिरिज, बेस्ट बलर र बेस्ट ब्याटसम्यानलाई पुरस्कार प्रदान गर्नेछ ।
समाजका अध्यक्ष नारायण भण्डारीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा खेल संयोजक विक्रम डाँगीले प्रतियोगिता बारे जानकारी गराउनुभएको थियो । कार्कक्रमको सहजीकरण युवा नेता तेज बहादुर विकले गर्नुभएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको