Chauthoanga - Nepali News Media
एसआईपी अर्थात् ‘सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान’यस्ता छन् फाइदा

काठमाडौं - एसआईपी अर्थात् ‘सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान’ । व्यवस्थित रूपमा लगानी गर्दै जाने योजना नै एसआईपी हो । वित्तीय क्षेत्रमा जानकारी राख्ने हरेकलाई एसआईपीबारे अवगत रहे पनि धेरै सर्वसाधारण यसबारे अझै अनभिज्ञ नै छन् ।

बैंकको ब्याजदर घट्दै गएको यो बेला एसआईपी लगानीको सही माध्यम हुन सक्छ । जागिर वा ज्याला मजदुरीबाट आउने पैसाबाट महिनैपिच्छे वा ३–३ महिना वा ६–६ महिनामा निश्चित रकम छुट्याएर एसआईपीमा सहभागी हुन सकिन्छ । न्यूनतम १ हजार रुपैयाँबाटै यसमा सहभागिता जनाउन सकिन्छ ।

एसआईपी लगानीपछि रकम केही वर्षपछि प्रतिफल सहित एकमुष्ट झिक्न सकिन्छ वा योजना व्यवस्थापक (एसआईपी गरिदिने कम्पनी) ले वर्षैपिच्छे दिएको नगद लाभांश लिन सकिन्छ ।

म्युचुअल फन्डका खुलामुखी योजना निष्कासन गरेका विभिन्न संस्थाले एसआईपी गरिदिन्छन् । नेपालमा २०७६ सालदेखि खुलामुखी योजना निष्कासन हुन थालेका हुन् ।

नेपालमा हाल ७ वटा खुलामुखी योजना सञ्चालनमा छन् । एनआईबीएल सहभागिता फन्ड, नबिल फ्लेक्सी क्याप फन्ड, कुमारी सुनौलो लगानी योजना, शुभलक्ष्मी कोष, एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड, एनएमबी सरल बचत फन्ड र सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम सञ्चालनमा छन् । यिनै योजनामध्ये आफूलाई उपयुक्त लागेको योजनामा एसआईपी गर्न सकिन्छ ।

एसआईपीमा गरेको लगानी के हुन्छ ?

सर्वसाधारणले एसआईपीमा गरेको लगानीबाट योजना व्यवस्थापक कम्पनीले म्युचुअल फन्डका खुलामुखी योजनाबाट इकाइ प्रदान गर्छन् । यी योजनाको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हुने गर्छ ।

एसआईपीको रकम यिनै योजनाका व्यवस्थापकले धितोपत्र, ऋणपत्रमा लगानी गर्छन् । यस किसिमको विविधीकरणले सम्पत्तिमा हुने लगानीको जोखिम कम गर्न मद्दत गर्छ ।

खुलामुखी योजनालाई अनुभवी कोष प्रबन्धकहरूद्वारा सञ्चालनमा ल्याइएको हुन्छ जसले लगानीकर्ताका तर्फबाट लगानी गर्ने निर्णय गर्छन् ।

लगानी उद्देश्यभित्र रहेर अधिकतम प्रतिफल प्राप्त गर्न पेसेवरहरूले कम्पनीको विश्लेषण, अनुसन्धान, बजार प्रवृत्ति विश्लेषण गरी सक्रिय रूपमा पोर्टफोलियो व्यवस्थापन गर्छन् ।

योजनाको रकम लगानी भएका विभिन्न कम्पनीका सेयर वा अन्य सम्पत्तिको मूल्य बढ्दै जाँदा योजनाको इकाइ मूल्य (न्याभ) पनि बढ्दै जान्छ । लगानी गर्नेले इकाइ बेच्दाखेरि त्यही न्याभ बराबरकै मूल्य पाउँछन् ।

यस्तो योजना दोस्रो बजार (नेप्से) बाट किनबेच हुँदैन । किनबेचका लागि तोकिएका सम्बद्ध बैंक तथा वित्तीय संस्थाका शाखामै जानुपर्छ ।

एसआईपीबाट आएको प्रतिफल कस्तो छ ?

एसआईपीको लगानी प्रतिफल पनि उत्कृष्ट देखिन्छ । खुलामुखी योजनाको इतिहास धेरै लामो छैन । उदाहरणका रूपमा, पहिलो खुलामुखी योजना एनआईबीएल सहभागिता फन्डलाई लिऔं ।

पहिलो वर्ष २०७६/७७ को नाफाबाट ८.२५, दोस्रो वर्ष २०७७/७८ को ५० प्रतिशत, तेस्रो वर्ष २०७८/७९ को नाफाबाट ७.२ प्रतिशत तथा चौथो वर्ष २०७९/८० बाट ४ प्रतिशत लाभांश दिइएको छ ।

चार वर्षमा औसत १७.३६ प्रतिशत लाभांश पाएका छन् । चार वर्षअघि एसआईपी गर्नेले पनि कुल लगानीको औसतमा त्यति नै लाभांश पाएका छन् ।

तर, सबै योजनाको यति नै प्रतिफल नहुन सक्छ । यद्यपि, समग्र सेयर बजार बढ्दा एसआईपी बापत लगानी पनि बढी हुने गरेको देखिन्छ भने सेयर बजार ओरालो लाग्दा एसआईपीको प्रतिफल पनि न्यून रहेको देखिन्छ ।

२ भदौ २०७८ मा नेप्सेले ३१९८ अंकको रेकर्ड बनाएर झ¥यो । जसले गर्दा त्यतिबेला नाफा बुक गरेर एसआईपी धनीलाई व्यवस्थापकले दिएको प्रतिफल उच्च छ । यतिबेला पनि बजार तल्लो बिन्दुमा छ भने ब्याजदर घटिरहेको छ । जसले गर्दा हाल एसआईपी गर्नेले आगामी केही वर्ष राम्रो प्रतिफल पाउन सक्ने देखिन्छ ।

एसआईपीमा कसरी सहभागी हुने ?

एसआईपी मार्फत गरिने लगानी बिस्तारै समय अनुसार मासिक वा त्रैमासिक रूपमा निश्चित रकम लगानी गर्न सकिन्छ । यसमा लगानीको औसत लागत निकाल्दै चक्रवृद्धि ब्याजको फाइदा लिन सकिन्छ । लगानी भइरहँदा पैसा समयसँगै कम्पाउन्डिङको नियमानुसार बढ्दै जान्छ ।

लगानीकर्ताले एसआईपी छनोटका लागि आवेदन दिनुपर्ने हुन्छ । यसमा लगानीकर्ताले एसआईपी मिति, योजनाको रकम, समयावधि र मासिक किस्ता जस्ता आवश्यक जानकारी उपलब्ध गराउनुपर्छ ।

लगानीकर्ताले आफ्नो सुविधाका आधारमा चेक वा अनलाइन माध्यमबाट लगानी रकम पठाउन सक्छन् । महिनैपिच्छे वा त्रैमासिक लगानीका लागि भुक्तानी गर्ने रकम पनि अनलाइनबाटै गर्न सकिन्छ ।

त्यसपछि योजनाको इकाइ लगानीकर्तालाई प्राप्त हुन्छ । हरेक महिना वा त्रैमासिक रूपमा लगानीकर्ताले रकम तिर्दै जाँदा योजनाको इकाइ पनि बढ्दै जान्छ । त्यो योजनाबाट पाउने नगद लाभांश नगदकै रूपमा लिन वा फेरि लगानी गरी इकाइ पनि थप्न सकिन्छ ।

एसआईपी क्याल्कुलेटरले एसआईपी मार्फत गरिएको लगानीमा प्रतिफल अनुमान गर्न सिकाउँछ । एसआईपी क्याल्कुलेटर लगानीकर्तालाई सम्भावित म्युचुअल फन्डहरूको सामान्य प्रतिफलको जानकारी दिने गरी डिजाइन गरिएको हुन्छ । अनलाईनखबरबाट

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १०:०२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको