Chauthoanga - Nepali News Media
पछिल्ला वर्षहरुमा सूचना प्रविधि क्षेत्रले नेपालाई राम्रो लाभ , महिनामै भित्रियो सवा अर्ब 

काठमाडौँ - पछिल्ला वर्षहरुमा सूचना प्रविधि क्षेत्रले नेपालाई राम्रो लाभ दिइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । खासगरी विभिन्न प्रकारका सफ्टवेयरको विकासमा नेपाली जनशक्ति अब्बल रहेको र उनीहरुको काम अन्य देशहरुमा निकै रुचाइएको अध्ययन प्रतिवेदनहरुले औल्याएका छन् ।

यही कारण सूचना प्रविधि, कम्प्यूटरलगायत सूचना र सञ्चारसम्बन्धी सेवा निर्यात मार्फत नेपालले राम्रो आम्दानी प्राप्त गरिरहेको नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ।प्रतिवेदनका अनुसार गत साउनमा मात्र सूचना प्रविधि, कम्प्यूटरलगायत सूचना र सञ्चारसम्बन्धी सेवा निर्यातबाट १ अर्ब १४ करोड रुपैयाँ नेपालले प्राप्त गरेको छ । यद्यपि गत वर्षको तुलनामा गत साउनमा नेपालले प्राप्त गरेको रकम भने कम हो । ०८० साउनमा यो शिर्षकमा नेपालले १ अर्ब २३ करोड रुपैया प्राप्त गरेको थियो ।

यस्तै, गत साउनमा मात्रै सूचना प्रविधि सेवा तथा उपकरण आयातमा ३१ करोड २१ लाख रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यो शिर्षकमा ५ करोड ५२ लाख मात्र बाहिरिएको थियो ।
उच्च सम्भावना देखिएकै कारण पछिल्ला वर्षहरुमा सरकारले कृषि, उर्जा र पर्यटनसँगै सूचना प्रविधि क्षेत्रलाई पनि प्राथमितामा राख्दै आएको छ । सरकारका नीति तथा कार्यक्रमहरुमा पनि सूचना प्रविधिले राम्रौ स्थान पाउन थालेको छ । सोही क्रममा सरकारले ‘राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने’ भन्दै कृषि, सूचना प्रविधि र आधुनिक पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याएको छ । यी दस्तावेजमा अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै ‘डिजिटलाइजेसन र कृषिमा लगानी दशक’ घोषणा गरिएको छ ।

सरकारका कामकारबाही प्रभावकारी बनाउन र रोजगारी सिर्जना गर्न सूचना प्रविधिलाई उपयोग गर्ने नीति पनि सरकारले लिएको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १६:३५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको