Chauthoanga - Nepali News Media
हरेक बालबालिकाको प्रत्येक वर्ष  आँखा जँचाउन तिलगङ्गा आँखा  प्रतिष्ठानको आग्रह

काठमाडौँ - बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रूपमा बच्चाको आँखा जँचाउन तिलगङ्गा आँखा प्रतिष्ठानले  सुझाव दिएको छ । आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने,  आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठुलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई जाँच गराउन प्रतिष्ठानले सुझाव दिएको हो  ।

विश्व दृष्टि दिवसका अवसरमा प्रतिष्ठानले आँखाको कालो भागमा सेतो देखिएमा, चोट पटक लागेमा साथै समय अगावै बच्चा जन्मिएमा र कम तौल जन्मिएमा पनि आँखा केन्द्रमा गई परीक्षण गराउन सबै अभिभावकलाई आग्रह गरेको छ । यस वर्षको आँखा दिवसको नारा ‘बालबालिकाको आँखालाई माया गरौँ’ भन्ने थियो ।

यस नाराले बालबालिकाको आँखा स्वास्थ्यमा सरोकार राख्ने सबै पक्षलाई समुदाय स्तरमै जनचेतना जगाउन, बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा पैरवी गर्न सहयोग पुग्ने प्रतिष्ठाले विश्वास लिएको छ ।

पछिल्लो समय बढ्दो डिजिटल स्क्रिनहरूको प्रयोग र घट्दो बाह्य गतिविधिका कारण बालबालिकाहरूको आँखामा विभिन्न समस्याहरू बढिरहेकाले विश्व स्वास्थ्य संगठनले समेत  सन् २०५० सम्ममा विश्वको करिब ५० प्रतिशत जनसङ्ख्यामा दृष्टिदोषको समस्या देखिन सक्ने पूर्वानुमान गरेको प्रतिष्ठानको भनाइ छ । त्यसको रोकथाम तथा न्यूनीकरणका लागि सबै पक्षहरूले सहकार्य गर्दे समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको सुझाव छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २५, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको