Chauthoanga - Nepali News Media
कहाँ छ ? लमही नगरपालिकाको हाकिम सवार गर्ने सरकारी गाडी ?

दाङ – दाङको लमही नगरपालिकाको सरकारी गाडीको दुरुपयोग भएको पाईएको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले प्रयोग गर्ने बा २ झ ४२०१ नम्बरको गाडी करिब डेढ महिनादेखी काठमाडौमा निजि प्रयोज भईरहेको स्रोतको दावी छ ।  

अधिकृत देवकोटाले भदौ महिनाको पहिलो हप्ता उक्त गाडी काठमाण्डौ लगेर गएको र उक्त गाडीलाई उहाँले आफुखुसी निजिरुपमा प्रयोग गरेको स्रोतले जानकारी दिएको छ ।श्रोतले भन्यो," प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले भदौ महिनाको पहिलो हप्ता उक्त गाडी काठमाण्डौ लिएर जानुभयो । फर्किँदा उतै छोडेर कार्यालय आउनुभयो भयो । उहाँले कार्यालयको गाडी र तेल काठमाडौँमा वस्दा आफुखुसी प्रयोग गरिरनु भएको छ ।उहाँले आफ्नो अख्तियारको चरम दुरुपयोग गर्दै आउनु भएको छ । यसलाई कसले रोक्ने ? उक्त गाडी अहिलेसम्म कहाँ छ भन्ने कुरामा लमही नगरपालिका बेखबर छ ।"

उहाँले सरकारी विदामा समेत गाडीलाई आफ्नो घरमा राखेर प्रयोग गरिरहेको स्रोतको दावी छ । 
यसैविच हामीले प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटालाई लमही नगरपालिका कार्यालयको गाडी दुरुपयोग भयो भन्ने गुनासो छ त्यो गाडी  कहाँ छ ? भनेर प्रश्न गर्दा ," उहाँ भन्नुहुन्छ गाडी म संगै काठमाडौँमा छ । बाटो विग्रेको कारण कार्यालयमा नल्याईएको हो । अब दशै विदा पछी म आउँदा लिएर आउँछु । तर बाहिर आएको जस्तो दुरुपयोग भएको होईन।"

यस विषयमा हामिले कार्यालयको थप आधिकारीक जानकारी लिनका लागि नगरपालिकाका मेयर जोगराज चौधरी र प्रवक्ता मोहन गिरीलाई फोन सम्पर्क गर्दा फोन उठेन ।  

निजामती सेवाका कर्मचारीको आचरण सम्बन्धी नियमावली, २०६५ को परिच्छेद २ को दफा-६.१ र ३ अनुसार निजामती कर्मचारीले कार्यालयको प्रयोजनको लागि रहेका मेशिनरी यन्त्र वा अन्य साधन तथा सुविधाहरुको व्यक्तिगत प्रयोजन वा फाइदाको लागि प्रयोग गर्नु हुँदैन ।

निजामती कर्मचारीले पदीय हैसियतमा प्राप्त गरेको हक, अधिकार, सुविधा वा सहुलियतको दुरुपयोग गर्नु हुँदैन भनिएको छ । त्यसैगरी भ्रष्टाचार निवारण ऐन, २०५९ का अनुसार  सरकारी सम्पत्ति र स्रोतहरूको अनुचित प्रयोग भ्रष्टाचारको श्रेणीमा पर्दछ। यदि कुनै सरकारी कर्मचारीले सरकारी सवारी साधनलाई व्यक्तिगत काममा प्रयोग गरेमा, यो भ्रष्टाचारको एक रूप हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को १७. अनुसार कुनै राष्ट्रसेवकले आफ्नो ओहदाको वा सो सम्बन्धी कर्तव्य पालन गर्दा नेपाल सरकार वा सार्वजनिक संस्थाको सम्पत्तिको लापरबाही वा बदनियत गरी हिनामिना, हानि नोक्सानी वा दुरूपयोग गरे गराएमा वा मासेमा वा निजी प्रयोगमा लगाएमा निजलाई कसुरको मात्रा अनुसार दफा ३ बमोजिमको सजाय हुनेछ र त्यसरी हिनामिना, हानि नोक्सानी वा दुरूपयोग गरेको वा मासेको वा मास्न दिएको सम्पत्ति पनि निजबाट असूल उपर गरिने भनिएको छ । 

कर्मचारी प्रशासनिक नियमावलीका अनुसार सरकारी कर्मचारीले व्यक्तिगत फाइदाको लागि सरकारी सम्पत्तिको प्रयोग गरेमा, यसलाई प्रशासनिक अनुशासनको उल्लङ्घन मानिन्छ।
 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको