Chauthoanga - Nepali News Media
भोलिसम्म वर्षा र बदली, तर घनघोर वर्षा नहुने मौसमविद्को भनाइ

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा रातिदेखि नै पानी परिरहेको छ । आज र भोलि पनि वर्षा र बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर अघिल्लो हप्ताजस्तो घनघोर र अविरल वर्षाको सम्भावना नभएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार एकैठाउँमा लगातार पानी पर्ने सम्भावना छैन ।

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलि पनि केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पर्सिदेखि भने मौसममा सुधार हुने मौसमविद् अधिकारीले जानकारी दिनुभयो ।

हिजो कोशी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएकोमा रातिदेखि कोशीसहित बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना पनि रहेको र कोशी प्रदेशको तराई भेगका केही ठाउँमा हुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले ठूलो पानी पर्ने ठाउँमा बाढी, पहिरो र डुबानको जोखिमबाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ०९:२२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको