Chauthoanga - Nepali News Media
लुम्विनी, बागमती र गण्डकी केही स्थानमा अति भारी वर्षाको सम्भावना

काठमाडौँ - जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

आजराति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । विभागका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

विभागले केही स्थानमा भारी तथा अति वर्षा तथा हावाहुरीकोसमेत सम्भावना रहेकाले ती क्षेत्रमा पहिरो जोखिम छ ।

साथै भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन विभागले अनुरोध गरेको छ ।

निरन्तर वर्षा: केही नदीमा जलसतह खतरास्तर नजिक

अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तु जिल्लास्थित बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक रहेको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा आज राति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक रहेको उल्लेख छ ।

विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ । अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको जनाइएको छ । विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०८:४१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको