Chauthoanga - Nepali News Media
मुख्यमन्त्रीको आह्वान: लुम्बिनी भ्रमणका लागि स्वदेशी र विदेशी पर्यटकलाई निम्तो

दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेशी तथा विदेशी पर्यटकहरुलाइ लुम्बिनी प्रदेश भ्रमण गर्न आह्वान गर्नु भएको छ । दाङकाे घाेराहीमा आयाेजना गरिएको विश्व पर्यटन दिवस कार्यक्रमलाइ सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले `लुम्बिनी घुमाैं´ अभियानलाई व्यापक बनाउने उद्घाेष गर्नु भयाे ।

`म सबैमा आह्वान गर्न चाहन्छु, लुम्बिनी प्रदेशकाे एक पटक अवश्य भ्रमण गराैं´उहाँले भन्नुभयाे-`लुम्बिनी प्रदेश पर्यटनकाे केन्द्र हाे । हरेक हिसाबले लुम्बिनी समृद्ध छ । हाम्रो प्रदेश मिनि नेपालकाे रुपमा स्थापित छ । एकपटक लुम्बिनी भ्रमण गर्न सबैमा निमन्त्रणा गर्दछु ।´लुम्बिनी प्रदेश सरकारले लुम्बिनी पर्यटन सर्किटलाई स्थापित गर्ने बताउनु भयाे ।`लुम्बिनी आएका पर्यटकलाई १२ जिल्लाकाे भ्रमण गराउनेगरी पर्यटन सर्किट बनाउने गरि काम भइरहेको छ´उहाँले भन्नुभयाे-`विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रिय स्तरमा पनि समन्वय भइरहेको छ ।´ प्राकृति रुपमा लुम्बिनी समृद्ध रहेकाे र यसबाट विकासकाे आधार निर्माण गरिने बताउनु भयाे ।`लुम्बिनी प्रदेश पर्यटक दृष्टिकोणले एक नम्बरमा पर्छ । पर्यटनकाे प्रचुर सम्भावना छ´उहाँले भन्नुभयाे-`विभित्र जातजाति, समुदायकाे कला संस्कृतिले लुम्बिनीकाे पहिचान विश्व समुदायमा पुगेकाे छ ।´

लुम्बिनी प्रदेश सरकारले विश्व पर्यटन दिवस दाङमा मनाएकाे छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद र घाेराही उपमहानगरपालिकाकाे संयुक्त आयाेजनामा ४५ अाैं पर्यटन दिवस घाेराहीमा  मनाइएको हाे । पर्यटन, न्याय र शान्ति मुल नारा सहित उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्याैपानेकाे अध्यक्षतामा कार्यक्रम भएको थियाे ।कार्यक्रममा घाेराही उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीले पर्यटनकाे विकास बाट समृद्धी हासिल गर्न सकिने प्रसस्त आधारहरु रहेकाे बताउनु भयाे ।`पर्यटन दिवसले राेजगारीकाे अवसर सृजना गर्छ । स्थानीय उत्पादनकाे बजारीकरण गर्न मद्दत गर्छ । यसले समग्र विकासमा टेवा पुग्छ´उहाँले भन्नुभयाे-`पर्यटन समृद्धिकाे आधार हाे । यहाँका नागरिककाे जीविकोपार्जन गर्न अवसरहरु  सृजना गर्दछ ।´

थरिथरि झाँकी र रैथाने परिकारकाे उत्सव

पर्यटन दिवसलाइ विभिन्न समुदायकाे झाकि, रैथाने परिकार, हस्तकलाका सामाग्री प्रदर्शनीले भब्य बनाइएकाे छ ।गणेशपुर तुलसीपुरले गन्धर्व समुदायको मालाश्री सारङ्गि  धुन, अवधी संरक्षण प्रतिष्ठान गढवाले अवधी नाच, देउखुरीका थारु समुदायले कठघोरी नाच प्रस्तुत गरेका थिए । नेवारी समुदायकाे लाखे नाच, तुलसीपुर गरगरवाका स्थानीयले नुवागाउँले सोरठी नाच प्रस्तुत गरेका थिए । पाल्पा मिस्दी गाउँपालिकाकाे कोरा नाच, घाेराही-१० काे थारु समुदायकाे वडका नाच, लुकमेली खाम समाजकाे भुम्या नाच, घाेराहीका थारु समुदायले थारु सख्या नाच प्रदर्शन गरेका थिए । यस्तै हातबाट बुनिएका कपडा, माटाेका भाँडा, फलामका सामाग्री प्रदर्शनीमा राखिएको थियाे ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको