Chauthoanga - Nepali News Media
अख्तियारमा परे झण्डै २७ हजार उजुरी

काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ उजुरी परेका छन् ।

अख्तियारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदै प्रमुख आयुक्त प्रेमकुमार राईले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेको जानकारी दिनुभयो ।

सबैभन्दा बढी झण्डै ३९ प्रतिशत उजुरी स्थानीय तहसमेत संघीय मामिला मन्त्रालयका छन् भने शिक्षाका १५ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जनका ७ प्रतिशत र भूमि प्रशासनसम्बन्धी उजुरी ६ प्रतिशत छन् । प्रतिवेदन बुझ्दै राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियारको काम, कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताउनु भयो ।

सुशासन कायम गर्न भ्रष्टाचारजन्य कसुरको पहिचान तथा अनुसन्धानसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य महत्वपूर्ण रहेको उहाँको भनाइ छ।

राष्ट्रपति पौडेलले अख्तियारको प्रतिवेदनमा उठाइएका महत्वपूर्ण विषयलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास रहेको पनि उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको