Chauthoanga - Nepali News Media
अब साना-ठूला भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन : प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी दिनमा भ्रष्टाचारका काण्डहरु सुन्न नपर्ने बताउनुभएको हो ।

उहाँले आफूले नेपाललाई अब नयाँ ढंगले अघि बढाउन चाहेको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले सरकारबाट दिने सेवाहरु उत्साहका साथ दिइने पनि प्रतिबद्धता जनाउनु भयो । उहाँले भन्नुभयो, ‘हामी नेपाललाई अब नयाँ ढंगले अघि बढाउन चाहिरहेका छौँ । अब आगामी दिनमा धेरै ठूलाठूला भ्रष्टाचारका काण्डहरु आदि इत्यादि, साना ठूला केही सुन्नपर्ने छैन भन्ने म ठान्छु ।'

उहाँले फाइल रोकेर एक ठाउँमा बस्ने कुरा अब सह्य नहुने भन्दै कुन ठाउँमा फाइल गएर अड्कियो भन्नेकुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने बताउनु भयो । उहाँले त्यसका लागि फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्र्याकिङ राखेको बताउनु भयो ।

प्रधानमन्त्री कार्यालयले त्यसको अनुगमन गर्नसक्ने बताउनु भयो । उहाँले परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पना अघि बढाइएको बताउनु भयो ।

'पहिले कार्यलयमा फाइल रोकेर एक ठाउँमा बस्ने तरिका थियो । अब यस्ता कुराहरु हुने छैनन् । फाइल फटाफट सर्छ,' उहाँले भन्नुभयो, 'हामीले एउटा सिस्टम विकास गरेका छौं, त्यसबाट कुन फाइल कहाँनेर पुगेको छ र कहाँ बसेको छ हेर्न सकिने छ । त्यसमा क्युआर कोर्ड राखिदिएका छौं, त्यो क्युआर कोर्ड ट्र्याकिङ प्रधानमन्त्री कार्यालयले गर्नसक्छ ।'

प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट पाउने सुविधामा अब घुस खुवाउनु नपर्ने, काम गरेबापत कुनै नजाराना चढाउनु नपर्ने र कतै भनसुन गर्न जानु नपर्ने बताउनु भयो ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १४:१०
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको