Chauthoanga - Nepali News Media
केही दिन भारी वर्षाको सम्भावना

काठमाडौँ- केही दिनयता मनसुनी वर्षा रोकिए जस्तो भए पनि मनसुन सकिएको छैन । एक वा दुई दिन घाम लाग्ने र फेरि अर्को एक/दुई दिन वर्षा हुने प्रवृत्ति दोहोरिरहेको छ । मनसुनी प्रणाली सक्रिय गराउन जलवाष्पको आवश्यकता बढ्दा प्राकृतिक प्रणाली अनुसार नै कहिले घाम कहिले पानीको प्रवृत्ति बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार पूर्व, पश्चिम र सुदूरपश्चिमसम्म नै बुधबारदेखि फेरि बदली सुरु भएको छ । दुई दिनयता घामछायाको अवस्थापछि बुधबार अपराह्नदेखि देशव्यापी बदली सुरु भएको हो । 

बुधबार हल्का वर्षा भए पनि बिहीबार र शुक्रबार लुम्बिनी र सुदूरपश्चिका धेरै भूभगमा मुसलधारे वर्षाको सम्भवना रहेको उहाँले बताउनुभयो । साथै बागमती र गण्डकी प्रदेशका केही भेगमा भारी वर्षाको सम्भावना रहेको छ । 

करिब एक महिना मनसुनको समय बाँकी रहे पनि मनसुनी प्रणालीको वेग कम भएको छैन । नेपालमा यो वर्ष बढी वर्षा हुने आकलन यसअघि नै भएको थियो । त्यसैले पनि मनसुन उत्तरार्धतिर लागेको छनक मौसमले नदिएको महाशाखाले जनाएको छ । अबको केही दिन देशका विभिन्न स्थानमा हुने भारी वर्षाले निम्त्याउन सक्ने बाढीपहिरो, डुबानलगायतका विपत्बाट आमनागरिकको जिउधन जोगाउन पूर्वतयारी गर्न सरोकारवाला निकायलाई अनुरोध गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको