Chauthoanga - Nepali News Media
पेशागत हित र सुरक्षाका लागि मेरो उम्मेदवारीः शर्मा

दाङः- लामो समय इञ्जिनियरिङ क्षेत्रमा रहेर अनुभव संगाल्नुभएका इञ्जिनियर रमेश शर्मा आगामी भदौ २८ गते हुन लागेको नेपाल इञ्जिनियरिङ एशोसिएशन लुम्बिनी प्रदेशको तेस्रो कार्यकारीणी समितिको निर्वाचनमा उपसभापती पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । शर्माले इञ्जिनियरिहरुको पेशागत हित र सुरक्षा मुल एजेण्डा बनाएर आफ्नो टिम चुनावी प्रतिस्पर्धामा उत्रिएको बताउनुभएको छ । हाल इञ्जिनियरिहरुको तलब निर्धारणमा पारदर्शिता तथा न्यायसंगत हुन नसकेको , शिक्षा र तालिमको विकास हुन नसकेको, इञ्जिनियरहरुलाई पेशामा प्रोत्साहन गर्न नीतिहरुको अभाव रहेको लगायतका कुराहरु जिकिर गदै यी समस्याको समाधानका लागि आफुले पहल गर्ने बताउनुभयो । यसैगरी इञ्जिनियरहरुको प्रविधिमा पँहुच र उपलब्धता सुनिश्चिित गर्ने, निर्माण परियोजनाहरुमा सामाजिक तथा वातावरणीय सन्तुलनलाई समावेश गर्ने तथा गुणस्तरीय र दिगो पुर्वाधार निर्माणमा योगदान दिने लगायतका एजेण्डाहरु सुनिश्चित गर्न पनि आफु र आफ्नो समग्र टिमलाई निर्वाचनमा जिताउन सबै इञ्जिनियरहरुलाई अनुरोध गर्नुभयो । 

लुम्बिनी प्रदेश पुर्वाधार विकास शाखाको प्रमुखको जिम्मेवारी सम्हाली सक्नुभएका शर्माको नेतृत्वमा लुम्बिनी क्षेत्रमा दर्जर्नौ पुर्वाधार विकासका कामहरु सम्पन्न भएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल लगायतका ठुला निर्माण परियोजनामा काम गर्नुभएका शर्माले यसअघि लमजुङ जिल्लामा १४.४ मेगावाटको जलविद्युत आयोजना, पूर्वी रुकुमको रुकुमगडमा ५.५ मेगावाटको जलविद्युत आयोजना, सोलुखुम्बु जिल्लामा ७७ मेगावाटको जलविद्युत परियोजनामा पनि नेतृत्वादायी भुमिका निर्वाह गर्नुभएको छ । ‘‘ इञ्जिनियरहरुले गरिरहेको मेहनतको कदर हुन सकेको छैन ’’ शर्माले भन्नुभयो ‘‘ राज्यका निकाय तथा अन्य क्षेत्रसंग पनि समन्वय गर्दै हाम्रो पेशालाई थप उत्कृष्ट बनाउन आवश्यक छ । लामो समयसम्म मैले संगालेको अनुभव र इञ्जिनियर मित्रहरुसंगको सहकार्यले हाम्रो पेशागत हित तथा सुरक्षामा देखिएका समस्या समाधानका लागि पहल गर्नेछु । ’’ 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको