Chauthoanga - Nepali News Media
अर्थतन्त्रका सूचक नकारात्मकतर्फ, मूल्यवृद्धि ७ दशमलव ८७ प्रतिशत पुग्यो

काठमाडौं, : चालू आर्थिक वर्ष २०७८/७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० दशमलव ५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कुल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब पुगेको छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९ दशमलव ७ र ९० दशमलव ३ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ५९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७३ अर्ब ३५ करोड तथा कूल पैठारी २८ प्रतिशतले वृद्धि भई रु १६ खर्ब चार अर्ब ६५ करोड पुगेको छ ।

अघिल्लो आवको प्रथम १० महिनाको अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ अनुपात ११ दशमलव ६ रहेकामा चालू आवको सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १अनुपात ९ दशमलव ३ रहन आएको छ । उक्त अवधिमा नेपालबाट भटमासको तेल, पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा, जुट तथा जुटका सामान, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैँची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र बिरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादन, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड तथा जडीबुटी निकासी भएका छन् ।

भटमासको तेलको निर्यातमा २६ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ । रु ४५ अर्ब ३५ करोडको भटमासको तेल निर्यात हुँदा समीक्षा अवधिमा रु ३७ अर्ब ९५ करोडको पाम आयल निर्यात भएको केन्द्रले जनाएको छ ।समीक्षा अवधिमा यार्न (पोलिष्टर, सूर्ती तथा अन्य) को निर्यातमा ५९ दशमलव १२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ऊनी गलैँचा निर्यातमा २८ दशमलव ५६, जुट तथा जुटका उत्पादन निर्यातमा १६ दशमलव २१ प्रतिशतले वृद्धि भएको छ ।

सोही अवधिमा कुकुर र बिरालोको आहार (डगच्यू)को निर्यातमा ४१ दशमलव १३ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ३१ करोड पुगेको केन्द्रले जनाएको छ ।चालू आवको १० महिनाको अवधिमा प्रशोधित खाद्य तेल (भटमासको तेल, पाम आयल, सूर्यमुखी तेल)को निर्यात कूल निर्यातमा ५० दशमलव ५३ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रुपमा देखापरेको छ । यस अवधिमा प्रशोधित खाद्य तेलको कुल निर्यात रु. ८७ अर्ब ६० करोड पुगेको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये भटमासको तेल, पाम आयल तथा सूर्यमुखीतेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः २६ दशमलव १६, २१ दशमलव ८९ र २ दशमलव ४८ प्रतिशत छ ।

कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैँची र चियाको निर्यातमा भने ह्रास आएको छ । समीक्षा अवधिमा अलैँचीको निर्यातमा २९ दशमलव ५३ प्रतिशतले ह्रास आई रु चार अर्ब २२ करोड र चियाको  निर्यातमा १८ दशमलव २३ प्रतिशतले ह्रास आई रु. दुई अर्ब ७६ करोडमा सीमित भएको छ ।

नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा ७२ दशमलव ९ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३७ अर्ब १८ करोड पुगेको छ । नेपालको कूल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७३ दशमलव १२ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा सो हिस्सा बढेर ७९ दशमलव १३ प्रतिशत पुगेको छ ।

नेपालको निर्यातमा ५० दशमलव ५३ प्रतिशत योगदान राख्ने भटमास, पाम आयल र सूर्यमुखी तेलको निर्यात भारतमा नै भइरहेकाले नेपालको कूल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो । संयुक्तराज्य अमेरिका, जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, चीन, नेदरलेण्डस्, डेनमार्क, बङ्गलादेशलगायत मुलुकमा नेपाली उत्पादन निर्यात हुँदै आएका छन् ।चालू आवको प्रथम १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा ८१ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।

सो अवधिमा रु. दुई खर्ब ५२ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १३ दशमलव ८, मेशिनरी तथा पार्टसको आयातमा २२ दशमलव १, यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ५.३, कच्चा भटमास तेलको आयातमा २५ दशमलव २ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा औषधीको आयातमा १ यस ३४ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ । खोपको आयात भारीमात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो । भारत, चीन, इण्डोनेशिया, संयुक्तराज्य अमेरिका, युएई, अर्जेन्टिना, अष्ट्रेलिया, युक्रेन, मलेशिया, ब्राजिल, बङ्गलादेश, थाइल्याण्ड, क्यानडा तथा  टर्कीबाट प्रमुखरुपमा वस्तु आयात हुने गरेको छ ।

चालू आवको समीक्षा अवधिमा समग्र निकासीमा उल्लेख्यरुपमा सुधार भए पनि पैठारीमा देखिएको वृद्धिका कारण व्यापार घाटामा २४ दशमलव ९ प्रतिशतले वृद्धि भई कुल व्यापार घाटा रु. १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको