Chauthoanga - Nepali News Media
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने 

दाङ - दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएको छ ।चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष ५० सिट सुनिश्चित गरेको हो ।५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबीबीएस पढ्न पाउनेछन् । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबीबीएसका लागि ५० सिट सुनिश्चितता भएको जानकारी दिनुभयो ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नका लागि विभिन्न चरणमा विभिन्न दलका नेताहरुले उत्तिकै पहल लिएका थिए । पछिल्लो चरणमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले गत आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि यथेष्ट बजेट बिनियोजन गरेको थियो भने चालु आर्थिक वर्षमा पनि आवश्यक बजेट व्यवस्था गरेको थियो । दाङ क्षेत्र नम्वर २ का सांसद् एवं निवर्तमान सूचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माको विशेष पहलमा राप्ति स्वास्थ्य विज्ञाप प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्ने प्रक्रियाको आवश्यक कागजादहरु अगाडि बढेको थियो ।  

त्यसपछि वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सोही कागजी प्रक्रियालाई अगाडी बढाउँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्री, शिक्षामन्त्री, मन्त्रालयका सचिव र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसहित पदाधिकारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछाने, रजिस्ट्रार प्राध्यापक श्याम लम्सालसहितको सहभागितामा बैठक बसेको थियो । 

प्रधानमन्त्रीले तत्कालै आवश्यक बजेट व्यवस्था गरेर दुवै प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन दिएपछि काम तीव्र रूपमा अघि बढेको थियो ।

प्रतिष्ठानले करिब ७ वर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बीएस्सी र बीएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन चालु अवस्थामा रहेको छ ।

 


 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको