Chauthoanga - Nepali News Media
सरकारले देशभरका १६ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सर जोखिम घटाउन  ‘एचपीभी’ खोप लगाउँदै

काठमाडौं -सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप निशुल्क दिने भएको छ ।‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी)को सहयोगमा देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकाई ह्युमन प्यामिलोमा भाइरसविरुद्धको खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार पुससम्ममा खोप आइसक्ने छ । उहाँका अनुसार करिब देशभर १० देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार बालिका छन् ।गत वर्ष नै सरकारले एचपीभीविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो । जसमा सातै प्रदेशका अस्पतालहरुबाट १४ वर्ष उमेरका करिब १० हजार बालिकाहरुलाई खोप दिइएको थियो । यो खोप चीनको इनोभ्याक्स कम्पनीले उत्पादन गरेको सिकोलिन ब्रान्डको हो, जसले विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त गरेको छ । यद्यपि यो अभियान मुख्यतया गाभीको सहयोगमा सञ्चालन हुँदैछ ।

चिकित्सकहरूका अनुसार महिलामा हुने क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाए वा समयमै परीक्षण गराए क्यान्सर हुने सम्भावना वा जटिलता एकदमै न्यून हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुन्छ । र, वार्षिक २ हजारको मृत्यु हुने गरेको छ ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघर मुखको क्यान्सरलाई २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने भन्ने नीति लिएको कारण सरकारले नियमित खोप सञ्चालन गर्ने योजना बनाएको हो ।

चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । सानो उमेरमा लगाएको खोप बढी प्रभावकारी हुन्छ । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् ।महिला र पुरुषहरू एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको