Chauthoanga - Nepali News Media
माओवादीले नेतृत्व गरेका हरेक तहका सरकारमा नमूना काम गरेको छः शर्मा

दाङ- पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले आफ्नो पार्टीले नेतृत्व लिएका कुनै पनि तहका सरकारमा नमूना काम गर्दै आएको बताउनुभएको छ ।
दाङको घोराही उपमहानगरपालिका जबरपुरमा आयोजित पार्टी कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले वडादेखि केन्द्रसम्म माओवादीले नेतृत्व गरेका सरकारहरुले नमूना काम गर्दै आएको बताउनुभयो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसअघि लोडसेडिङमुक्त नेपाल बनाएको स्मरण गराउँदै उहाँले पछिल्लो कार्यकालमा गम्भीर भ्रष्टाचारका फाइलहरु खोलेर सुशासनको नयाँ अभियान सुरु गरेको बताउनुभयो । ‘माओवादीले अहिलेसम्म धेरै सम्हालेका उर्जा र सञ्जार मन्त्रालय हुन्, यी मन्त्रालयले नै अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेका छन्’– शर्माले भन्नुभयो– ‘दिनमा १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त गरेर दश वर्षमा दश हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्नेसम्मको तहलाई देशमा पुर्याउने माओवादी नै हो । घरघरमा इन्टरनेट, हातहातमा मोबाइल सेटको नारासहित सञ्चार क्षेत्रको विकास गर्दै अहिले नेपाललाई सूचना प्रविधि दशकको घोषणासम्मको अवस्थामा पुर्याएको पनि माओवादीले नै हो ।’ 

माओवादीको पहिलो सरकारले मध्यपहाडी लोकमार्गजस्तो राष्ट्रिय महत्वको आयोजना अघि बढाएको स्मरण गर्दै उहाँले माओवादीले नेतृत्व गरेका केन्द्रदेखि स्थानीय तहका हरेक सरकारले नमूना काम गर्दै आएको बताउनुभयो । माओवादीले धेरै काम गरे पनि जनतासँगको सम्बन्ध र व्यवहारलाई ध्यान दिन नसक्दा कमजोर भएको स्वीकार गर्दै नेता शर्माले अब जनतासँगै एकाकार भएर आगामी निर्वाचन एक्लै लड्ने तयारीका साथ अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका शर्माले सबै टोलटोलमा एकैचोटी विकास पुर्याउन नसके पनि क्रमशः विकास योजनाहरु योजनाबद्ध रुपमा अघि बढाउँदै लगेको बताउनुभयो ।

जनताबाट निर्वाचित हुँदा आफूले सके जति राम्रो गर्नेछु र नराम्रो गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उहाँले सके जति राम्रो गरिरहेको तर नराम्रो नगरेको र कहिल्यै नगर्ने वाचा दोहोर्याउनुभयो । ‘मैले निर्वाचन जितेको पाँच वर्ष पुगेपछि निर्वाचन क्षेत्रमा के कति काम गरियो, के कति गर्न सकिएन र के कारणले गर्न सकिएन भनेर स्वेतपत्र जारी गर्नेछु’– उहाँले भन्नुभयो– ‘हामी जो जहाँ छौं, इमान्दारितापूर्वक लागौं, गर्न सकेका कामको स्वामित्व लिऔं, नसकेका कामका लागि निरन्तर पहल गरौं, हामी अवश्यक सफल हुनेछौं ।’

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको