टेक्सस (अमेरिका)- टेक्ससको ह्युज्टनस्थित एउटा अपार्टमेन्टमा बसोबास गर्दै आउनुभएका नेपाली विद्यार्थी मुना पाण्डेको सोमबार साँझ गोली हानी हत्या गरिएको छ । उहाँको छातीमा धेरै गोली लागेको थियो । २१ वर्षीया मुना तीन वर्ष अघि अमेरिका आउनुभएको हो । उहाँ सो अपार्टमेन्टमा एक्लै बस्दै आउनुभएको जनाइएको छ ।
सन्दिग्ध अपराधीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटना थाहा भएपछि अपार्टमेन्टका अधिकारीहरुले एम्बुलेन्सलाई फोन गरेपछि तत्काल आएका एम्बुलेन्सका चिकित्सकहरुले जाँच गर्दा घटनास्थलमा नै उहाँको मृत्यु भइसकेको जनाएका थिए । प्रहरीले सन्दिग्ध अपराधीको बारेमा जानकारी दिन अनुरोध गरेको छ ।
ह्युज्टन कम्युनिटी कलेजमा स्नातक तहमा अध्ययनरत पाण्डेको घर भोजपुर रहेको जनाइएको छ । पारिवारिक स्रोतलाई उद्धृत गर्दै समाचारपत्रहरुले जनाए अनुसार उहाँको एक जना श्वेत अमेरिकी केटासँग प्रेम सम्बन्ध थियो । उहाँकी आमा अनिता पाण्डे अधिकारीले हत्यारा पत्ता लगाउन नेपाली समुदायलाई आग्रह गर्नुभएको छ ।