Chauthoanga - Nepali News Media
बसी खान डर छ, छोडी जान घर छ

कमिरेचौर-भिरालो ठाउँ, माटोको घर, नौजनाको परिवार, खेतीपातीले खान नपुग्दा पति र दुई छोरा भारततिर पसेपछि बुहारी, नाति नातिनाको पालन पोषण थेगेर बंगलाचुली–४ तापाकी ५५ वर्षीया शिवा पुन भएको ८/९ कट्ठा जमिन खन खोर्सनमै दैनिकी चलेको छ । वर्षायाम छ, मकै र मकैसँगै रोपिएका तरकारीका झाल स्याहार्दै गर्दा शिवालाई बालीबोटको भन्दा चिन्ता नाति नतिना, बुहारी र आफ्नै बुढ्यौली ज्यानको पीर छ । त्यसैले होला शिवाको ध्यान घरीघरी झण्डै पाँच सय मिटर माथिको चुनढुंगा खानीतिर छ । खानी उत्खनन् भइरहँदा कति बेला ढुंगा खसेर मरिन्छ भन्ने चिन्तामा रहेकी शिवा भन्नुहुन्छ– ‘बाँचिन्न हजुर ? कति बेला ढुंगा खस्छ र च्याप्छ कुनै ठेगान छैन ।’

बंगलाचुली गाउँपालिका–४ तापामा घोराही सिमेन्ट उद्योगले दशक अघिदेखि चुनढुंगा उत्खनन् गरिरहेको छ । भिरालो भूगोल, खानी उत्खनन् भइरहेकै पाँच सय मिटर तलतिर तल्लो तापामा एक सय ३६ घरधुरीको वस्ती छ । माथि ठूला–ठूला मेसिनले ढुंगा उत्खनन् गरिरहँदा तलतिरका शिवा पुनजस्तै एक सय ३६ घर परिवार सधै कति बेला पहिरो र ढुंगा लागेर मरिने हो भन्ने चिन्तामा छन् । माथिबाट खस्ने ढुंगाका टुक्राले चोट लागेर अंगभंगमात्रै होइन ज्यानै जाने हो कि भन्ने त्रासमा रहेका तल्लो तापावासीलाई उत्खनन्ले छिया–छिया भएको जमिन ह्वात्तै खसेर बस्ती पुरिने हो कि भन्ने त्रासले सताएको स्थानीय ६६ वर्षीया देवा बिकको गुनासो छ ।

उत्खनन् गर्दाको आवाज, सुख्खा याममा उड्ने धुलो, जमिन थर्किएर पहिरो आउने जोखिमले तापावासी बाहै्रमास त्रासमा बाँचिरहेका छन् । खानी उत्खनन्का कारण पहिरो र ढुंगा खसेर मर्ने चिन्ता त छँदैछ, तापावासीलाई अहिले खेतीपातीमै समस्या हुन थालेको छ । उत्खनन्को धुलोले उत्पादनमै ह्रास आएको उनीहरुको गुनासो छ । ‘यिनै जग्गा हुन् पहिले यसैको उत्पादन बेचेर खान्थिउँ, अहिले बेसाएर खान्छौं’– तल्लो तापाकी ६६ वर्षीया देवा बिकले भन्नुभयो– बालीनाली नै हुन छोड्यो, के गरेर खाने हो ? तापा गाउँमा चारवटा खानेपानीका मुल थिए । अहिले सानो धारा चक्रक्क सुक्यो । ठूलो धारामा धमिलो पानी आउन थालेको छ भने दरखोला र कपेरी खोलाको पानीले तापाको तिर्खा मेटिएको छ । खानी उत्खनन्ले पहाड थर्किएर पानीको स्रोत नै हल्लिएर पातालिएको स्थानीय लोकबहादुर पुनको भनाइ छ ।

उमेरले ६३ वर्ष पुगिसक्नुभयो । छोरा नातिलाई शेष हस्तान्तरण गर्ने बेला पनि भयो तर बंगलाचुली–४ तापाकी ६३ वर्षीया ओनी घर्तीलाई बाँच्नका लागि बसाइ सर्नुपर्ने बाध्यता आइलागेको छ । जीवनभर खने, खोस्रेको ठाउँ चुनढुंगा खानी उत्खनन्को जोखिममा परेपछि जीवनको उत्तराद्र्धमा ओनीलाई थातथलो छोड्ने अवस्थाले चिन्तित बनाएको छ । ‘पानी सुक्न थाले, खेती हुन छाड्यो, ढुंगा खसेर कति बेला मरिन्छ थाहा छैन’– ओनीले भन्नुभयो– ‘हे भगवान बसी खाने डरै डर छ, छोडी जाने घर बास छ कसैले किन्दैन, त्यत्तिकै कसरी छोडौं ?’ तापावासीले जीवन जोखिममा परेको भन्दै घोराही सिमेन्ट उद्योगसँग मुआव्जा दिएर बस्ती उठाइदिन माग गरेका छन् तर उद्योगले एकैपटक मुआव्जा दिन नसकिने भन्दै क्रमशः वस्ती उठाउने भनेको छ । घोराही सिमेन्टले माथिल्लो तापा क्षेत्रका २३ घरको झण्डै दुई सय रोपनी मुआव्जा दिएर खरिद गरेको पनि छ र अरु विस्तारै तल्लो तापामा पनि मुआव्जा दिने बताएको छ । तर उद्योगको यो प्रस्ताव तापावासीलाई मान्य छैन । ढुंगा खस्दा होस् वा पहिरो खस्दा अथवा धुलो धुवाँको जोखिम र पानीका मूल सुक्दा समस्या र जोखिम सबैलाई भएकाले एकैपटक सबै वस्ती उठाउनुपर्ने खानी पीडितहरुको माग छ । यही माग लगेर खानी पीडितहरुले बंगलाचुली गाउँपालिकाको न्यायिक समितिमा पनि निवेदन दिएका छन् तर सुनुवाइ नभएको पीडितहरुको भनाइ छ ।

बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक भक्तबहादुर जिसीले तापावासी जोखिममा रहेको स्वीकार्नुहुन्छ । तर पीडितहरुको माग सम्वोधनका लागि गरिएका प्रयास सफल हुन नसकेको उहाँको भनाइ छ । ‘हामी उद्योगसँग निरन्तर समन्वयमा छौं, तापावासीको समस्या समाधान गर्ने बारे छलफल भइरहेको छ’– उपाध्यक्ष जिसीले भन्नुभयो– ‘सकभर पीडितको माग सम्बोधन गराउँछौं, नभए जनता बचाउनतिर स्थानीय सरकार लाग्छ, खानी बन्द गर्ने निर्णयमा पुग्छौं । उद्योगले मुआव्जा नदिने, जोखिममात्रै दिदा तापावासी मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् । यहाँसम्म कि गरी खाने खेत समेत उत्खनन् क्षेत्रको लेदोले पुरिएर स्थानीयको उठिवास लागेको छ । बंगलाचुली–४ तापाका मीनबहादुर परियारको धान रोपेको दुई विगाह खेत लेदोले पुरिएको छ । त्यस्तै जीवलाल विष्टको एक विगाह, दुर्गाबहादुर विष्टको १० कट्ठा, कर्णबहादुर पुनको तीन कट्ठा, रमेश परियारको पाँच कट्ठा खेतबारी पुरिएको भन्दै क्षतिपूर्तिको माग गर्दै गाउँपालिकामा निवेदन दिएका छन् । खानी क्षेत्रबाट उत्खनन् गरी फालिएको वेस्टेज रुपला खोला र अरङखोलाहुँदै पहिरोसहित खेतवारीमा पसेको तापाका बाढीपीडित ५२ वर्षीय भीमबहादुर परियारले बताउनुभयो ।

घोराही सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन् गर्ने स्थान बंगलाचुली गाउँपालिका–४ तापा क्षेत्र सामुदायिक वन क्षेत्र हो । वडा नं. ३ मा पर्ने जुद्धवीर सामुदायिक वन र वडा नं. ४ मा पर्ने सरस्वती सामुदायिक वनको ३७ हेक्टर वन क्षेत्र मासेर चुनढुंगा उत्खनन् गरिएको छ । जहाँ सल्लाका रुखहरु थिए । स्थानीय चरिचरन क्षेत्र समेत रहेको उक्त स्थानमा उत्खनन् थालेपछि चरिचरन नै मासिएको र तापामा गाईपालन नै बन्द भएको बंगलाचुली गाउँपालिका–४ का वडा सदस्य दीपक परियारले बताउनुभयो । गौचरन मासियो, वन मासियो, खानेपानी मासिदैछ, धुलो धुवाँले विरामी बढ्दै छन्, चुनढुंगा ढुवानी गर्ने टिप्परले दुर्घटना जोखिम बढ्यो, खानी पीडित ६३ वर्षीया ओनी घर्तीले भन्नुभयो– ‘यहाँका छोरी, चेली पनि असुरक्षित भइसके बाबु हामीलाई रातभर निन्दा लाग्दैन । जे भयो भयो अव बन्द गराइदिनुस् ।’ 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको