Chauthoanga - Nepali News Media
१६ जिल्लाका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गर्दै प्राज्ञिक

दाङः- प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवाकार्य अन्तर्गत यस वर्ष २५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले परिषद्को सेवाकार्य अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८१ सुरु हुने र यस वर्ष इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुर गरी १६ वटा जिल्लाका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत २५ सय २५ जना विद्यार्थीहरूलाई उनिहरूको आवश्यकतालाई महशुस गरी झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने बताउनुभयो । 

विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानले पत्रकारहरूका प्रश्नहरूको जवाफ दिँदै विद्यार्थी परिषद्ले राष्ट्र प्रथमको विचारले नेपाली युवाहरूलाई सिञ्चीत गर्दै नेपाल आमाको जयका लागि आवश्यक सम्पूर्ण कार्य गर्नसक्ने व्यक्ति तयार गरिरहेको बताउँदै विद्यार्थीलाई प्रदान गरिने शैक्षिक सामग्री अन्तर्गत कपीमा व्यक्तिको राष्ट्रिय चरित्र निर्माणका लागि आवश्यक एक संकल्प राष्ट्रका लागि राखिएको जानकारी दिनुभयो । 

२०५२ सालदेखि शिक्षा क्षेत्रमा दलगत राजनीति भन्दा माथि रहेर नेपालको एकमात्र स्वतन्त्र विद्यार्थी संगठनको रूपमा विद्यार्थी, शिक्षक र शिक्षाविद्माझ कार्य गर्दै आएको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले हालसालै पनि देशका सातवटै प्रदेशमा विभिन्न शिक्षाविद्हरूलाई राखि शिक्षाक्षेत्रको समग्र सुधारका लागि शिक्षा कार्यशाला पनि सम्पन्न गरेको थियो । विद्यार्थीहरूको वैचारिक एवम् सामाजिक विकास गर्ने क्रममा देशभरका क्याम्पसहरूमा जीवननोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम, छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्युटर तालिम, कोचिङ् कक्षा, बालसंस्कार कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, प्रतिभा सम्मान, रक्तदान शिविर जस्ता रचनात्मक एवम् सिर्जनात्मक क्रियाकलाप प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गर्दै आएको छ ।

 यस्तै शैक्षिक एवम् सामाजिक मुद्दाहरूमा निरन्तर रचनात्मक एवम् सिर्जनात्मक कार्य गर्दै आइरहेको प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो सेवा कार्य अन्तर्गत गत तीन वर्षदेखि निरन्तर देशका अलगअलग जिल्लाहरूमा शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ । वि. सं. २०७९ अन्तर्गत सिन्धुपाल्चोक, दोलखा, रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, गोरखा, मुस्ताङ, मुगु, डोल्पा, हुम्ला गरेर देशका ११ वटा हिमाली जिल्लाहरूका विद्यार्थीहरूलाई उक्त शैक्षिक सामग्री वितरण गरिएको थियो । भने वि.सं. २०८० अन्तर्गत  १८ जिल्लाहरूमा सामग्री वितरण गरेको थियो । जसमा गुल्मी, बारा, सिन्धुली, मकवानपुर, रुपन्देही, संखुवासभा, तेह्रथुम, कालीकोट, रौतहट, बाग्लुङ, रोल्पा, सिरहा, काठमाडौँ, काभ्रे आदि जिल्ला रहेका छन् । उक्त शैक्षिक सामग्री नेपालको शैक्षिक विकासमा विभिन्न प्रकारका छात्रवृत्ति प्रदान, क्याम्पस, विद्यालय तथा पुस्तकालयका शैक्षिक तथा प्रशासनिक भवन निर्माण, विद्यालय तथा क्याम्पसका लागि बस प्रदान जस्ता महत्वपूर्ण सहयोग गर्दै आएको मित्रराष्ट्र भारतले प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आग्रहलाई स्वीकार गरी भारतीय जनता र भारत सरकारको सहगोगबाट प्राप्त भएको हो । हालसालै पनि विद्यार्थी परिषद्ले जाजरकोटमा गएको भुकम्प प्रभावित विद्यार्थीहरूलाई शैक्षिक सामग्री एवम् न्यानो कपडा वितरण गरेको थियो । 

 शुक्रबार रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा परिषद्का राष्ट्रिय महासचिव विष्णु पंगेनी, केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख तथा कोशी र मधेश प्रदेश संगठन सचिव छितराज न्यौपने, राष्ट्रिय सचिव जानकी आचार्य, सृष्टि जोशी, राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्ण प्रसाद हुमागाई, सेवा र विकासका लागि युवाका कार्यकारी निर्देशक अर्जुन बगाले, बाग्मती प्रदेश सचवि मनिता देवकोटा लागाएतको उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको