Chauthoanga - Nepali News Media
देशभर हैजा संक्रमण बढ्दै, २२ जनामा  पुष्टि

काठमाडौं - देशभर हैजाका विरामीहरु देखा पर्न थालेका छन् । लेशका विभिन्न स्थानमा केही सातायता २२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । हैजाका बिरामी देखिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको पानी भए पनि उमालेर पिउन आह्वान गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बुधबार एक विज्ञप्ति जारी गर्दै हैजा अति संक्रामक तथा शीघ्र फैलने भएकाले सबैलाई सजग रहन आग्रह गर्नुभएको छ । डा. बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा ललितपुरको गोदावरी तथा इमाडोल क्षेत्रमा गरी १४ जनामा हैजा पुष्टि भएको छ । यसका साथै काठमाडौंको टोखा तथा कैलालीको धनगढीमा पनि हैजा संक्रमित भेटिएका छन् । खुला दिसाको अभ्यास घट्नुका साथै सरसफाइमा प्राय सबै सजग रहे पनि बर्खायाममा पानीको स्रोतमा ढल मिसिने तथा पहिरोले पानीको पूर्वाधारलाई हानी पु¥याउँदा हैजाको संक्रमण नेपालमा हरेक वर्ष देखिने गरेको छ ।

भिब्रियो कोलेरा नामक ब्याक्टेरियाबाट संक्रमित भएकाहरूमा झाडापखालासहित पातलो चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने र वान्ता हुने र कडा जलवियोजनका लक्षण देखिन्छन् । डा. बुढाथोकीका अनुसार हैजाको जीवाणुबाट संक्रमित भएकाहरूले समयमा नै उचित स्वास्थ्योपचार नपाएमा मृत्यु हुने जोखिम उच्च रहेको छ । ‘हैजा भनेको सामान्य झाडापखाला जस्तो होइन । तुरन्तै स्वास्थ्य संस्था नपुगे ५० प्रतिशतसम्म मुत्युदर हुन्छ, बुढाथोकीले भन्नुभयो– ‘हैजा संक्रमित ८० प्रतिशतमा कुनै लक्षण नहुने तर उनीहरूको दिसामा संक्रमित भएको १० दिनसम्म हैजाको जीवाणु हुनसक्ने भएकाले त्यस्ता संक्रमितले अरुलाई सार्न सक्ने सम्भावना धेरै हुन्छ ।’ उहाँका अनुसार हैजा संक्रमितको दिसाले पानीको स्रोत प्रदुषित गरेको खण्डमा यसले ठूलो महामारीको रुप लिन सक्ने जोखिम रहेकाले मन्त्रालयले सजगता अपनाउन आग्रह गरेको हो ।

डा. बुढाथोकीका अनुसार देशका अन्य स्थानबाट पनि हैजा संक्रमित भेटिएको खबर आए पनि त्यो ¥यापिड किटको परीक्षणमा मात्रै देखिएको र प्रयोगशालामा कल्चर गरेर हेर्दा भिब्रियो कोलेरा नभेटिएको बताउनुभयो । ‘सबै झाडापखाला हैजा होइन । हैजा परीक्षण गर्नका लागि ¥यापिड किट पनि पाइन्छ । तर त्यो भरपर्दाे छैन । यकिन गर्नका लागि प्रयोगशालामा कल्चर नै गरेर हेर्नुपर्छ’– डा. बुढाथोकीले भन्नुभयो । हैजाबाट जोगिनका लागि पानीको मुहानलाई प्रदूषित हुनबाट जोगाउनुपर्छ । यसका साथै झिंगा लागेका, सडेगलेका, नपाकेका र खुलास्थानमा राखिएका खाद्यपदार्थ खानु हुँदैन । पानीलाई सकेसम्म उमालेर वा क्लोरिनका सहायताले निर्मलीकरण गरेर मात्रै प्रयोग गर्नुपर्छ । यस्तै, शौचालयको प्रयोग गरेपछि तथा खाना खानुअघि अनिवार्यरूपमा साबुन पानीले मिचिमिची हात धुने बानी गर्नुपर्छ ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको