Chauthoanga - Nepali News Media
लुम्बिनीका मुख्यमन्त्री महराद्वारा राजीनामा,नयाँ सरकार गठनका लागि बाटो खुल्यो

देउखुरी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री महराले राजीनमा नदिने बरू विश्वासको मत लिने बताए पनि विश्वास मत नपाउने सङ्केत देखिएपछि उहाँले पदबाट राजीनामा दिनभएको हो । प्रदेशसभा सचिवालयले साउन ५ गते प्रदेश सभा बैठक र सम्भावित कार्यसूचि सार्वजनिक गर्दै विश्वासको मत सम्बन्धी सूचना प्रकाशन गरेको थियो ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने वा राजीनामा दिनुपर्ने संबैधानिक व्यवस्था छ । माओवादी संसदीय दल नेता महरा एमालेका २९, माओवादी १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा तीन, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थनमा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

मुख्यमन्त्री महराले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । केन्द्रमा एमाले र कांग्रेस बिच भएको सहमति अनुसार अब लुम्बिनीको मुख्यमन्त्री एमाले संसदीय दलका नेता लिला गिरी बन्ने बताइएको छ । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण प्रदेशसभाका दुई ठुला राजनीतिक दल एमाले र कांग्रेसले मिलेर सरकार बनाउन आन्तरिक गृहकार्य समेत सुरू गरेका छन् ।

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको