Chauthoanga - Nepali News Media
खानपानबाट पनि उच्च रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ ?

उच्च रक्तचाप हुनुका पछाडि विभिन्न कारण हुन्छन् । जस्तो कि, वंशाणुगत, मिर्गौला र मुटुको समस्या, तनाव आदि । त्यससँगै यसमा मुख्य जिम्मेवार खानपानलाई पनि मानिन्छ ।

उच्च रक्तचाप नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले पनि ‘ड्यास डाइट’ डाइट प्लान सुझाएको छ । जसले खानपानको मद्दतबाट कसरी उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ भन्ने सुझाव दिन्छ ।

‘ड्यास डाइट’ले सम्पूर्ण अन्न, रंगीन फलफूल र तरकारी खान सल्लाह दिन्छ, किनकि त्यसमा प्रशस्त  मात्रामा एन्टिअक्सिडेन्ट र फ्लेभोनोइड्स हुन्छ ।

पछिल्लो समय खानपानका कारण उच्च रक्तचापको समस्या बढेको चिकित्सकहरू पनि बताउने गर्छन् । हामीले खाने कतिपय खानेकुरा यस्ता छन्, जसले रक्तचाप बढाउँछ । तर मात्रा र सन्तुलन मिलाएर खाएमा समस्यालाई नियन्त्रण पनि गर्न सकिन्छ । यसरी खानुपर्छ, जसले पोषण प्राप्त होस् विकार होइन । यस्तोमा उच्च रक्तचाप बढाउन र नियन्त्रण राख्नमा खानपानको महत्वपूर्ण भूमिका हुन्छ ।

रक्तचाप बढ्नुमा यी खानपानको हुन्छ भूमिका

म्याग्नेसियमको कमीले उच्च रक्तचापको जोखिम बढाउँछ । म्याग्नेसियमको कमी हुने बित्तिकै क्याल्सियममा वृद्धि आई रक्तनलीहरूलाई साँघुरो बनाएर रक्तचाप बढाउँछ ।

बढी नुन प्रयोग गरियो भने यसमा पाइने सोडियमले उच्च रक्तचाप र मुटुको रोगको जोखिम बढाउँछ । सामान्य रूपमा बुझ्दा रगतमा जति बढी सोडियम भयो त्यति नै बढी पानी यसले रक्त धमनीमा तान्छ ।

यसले रक्तचाप बढाउँछ र त्यसपछि हृदयघात र मस्तिष्कघातको खतरा पनि बढाउँछ । अत्यधिक चिल्लो, तारेको–भुटेको खानेकुरा पनि मोटोपन र उच्च रक्तचापको कारण बन्न सक्छ । रक्सी, चुरोट, प्याकेट बन्द खानेकुराले पनि उच्च रक्तचापको जोखिम बढाउँछ ।

उच्च रक्तचाप बढ्नुमा मोटोपन पनि एउटा कारण हुनसक्छ । मोटोपन भनेको शरीरमा बोसो बढ्नु हो, जब शरीरमा बोसो बढ्छ, त्यसले रक्तप्रवाह गर्ने नसा साँघुरो बनाइदिन्छ । यसरी नसा साँघुरो भएपछि मुटुको कार्य सञ्चालन कठिन हुन्छ । नतिजा, रक्तचाप बढ्न सक्छ ।

उच्च रक्तचाप नियन्त्रण गर्ने खानेकुरा

पोटासियमले सोडियमको प्रभावलाई कम गर्ने हुँदा पोटासियमयुक्त फलफूल, सागसब्जी बढी खानुपर्छ । दूध, दही र मोहीमा क्याल्सियम हुन्छ जसले रक्तचापलाई  नियन्त्रण गर्न मद्दत गर्छ । नुनलाई चटक्कै छाड्न हुँदैन । धेरैले उच्च रक्तचाप भएपछि नुन नै नहाली सागसब्जी खाने गरेका हुन्छन्, जुन गलत हो । उच्च रक्तचाप भएकाहरूमा पनि नुन आवश्यक हुने भएकाले नुन खानुपर्छ तर यसको मात्रा घटाउनुपर्छ ।

म्याग्नेसियमको कमीले रक्तचापको समस्या निम्तिने भएको म्याग्नेसियमयुक्त खानेकुराको सेवन गरेर रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ । हामीले म्याग्नेसियम खानेकुरा मार्फत पाउँछौं । केरा, ब्रोकाउली, सिमी काजु,  बदाम, एभोकाडो, माछा, ओक्खर, हरियो सागपात, गेडागुडी, फर्सीको बीउ, भटमास, तिल, तोफु लगायत खानेकुरा म्याग्नेसियमका प्रमुख स्रोत हुन् ।

ग्रिन टी, करेला जस्ता तीतो खानेकुराले पनि रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ । तीतो खानेकुरामा पोटासियम र म्याग्नेसियम हुन्छ । पोटासियमले शरीरमा भएको सोडियमलाई पानीको माध्यमबाट पिसाब बनेर बाहिर निकाल्छ । शरीरमा रगतको मात्रा कम गराएर धमनीको भित्तामा हुने चापलाई कम गर्छ । जसको असर केही समयका लागि मात्र हुन्छ । त्यस्तै, म्याग्नेसियमले रगतको नसालाई लचिलो र फराकिलो बनाउँछ र चाप कम गराउँछ । तर खानुअघि चिकित्सकको सल्लाह भने लिनुपर्छ ।

चिकित्सकले औषधि खान सुझाएका छन् भने त्यो नियमित रुपमा खानुपर्छ । मद्यपान र धुम्रपानबाट टाढा रहने, रिस नियन्त्रण गर्ने, योग र ध्यानलाई दैनिकीमा समावेश गर्ने, व्यस्त रहने, हिंडडुल गर्ने, तनावलाई आफूमा हाबी हुन नदिने र खानेकुरा नियमित तालिका बनाएर ठिक्क मात्रामा खाने गर्दा रक्तचाप नियन्त्रणमा ल्याउन सकिन्छ । श्रोत - अनलाईनखबर 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको