Chauthoanga - Nepali News Media
प्रधानमन्त्री प्रचण्डको आक्रोश र चेतावनीयुक्त सम्बोधन  (पूर्णपाठसहित)

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत हुनुभयो ।  विशेषगरी सत्ताका लागि नयाँ समीकरण बनाएका नेकपा एमाले र नेपाली कांग्रेसविरुद्ध प्रचण्ड आक्रामक रूपमा उहाँ प्रस्तुत हुनुभएको हो ।
प्रचण्डले सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजान समेत कांग्रेस–एमालेलाई चेतावनी दिनुभयो । उहाँले कांग्रेस र एमाले प्रतिगमनतर्फ उन्मुख भएको दाबी गर्दै त्यसलाई रोक्न पनि आफूले राजीनामा नदिई संसदमा विश्वासको मतको फेस गरेको बताउनुभयो । 

प्रतिनिधिसभाबाट विश्वासको मत लिने सिलसिलामा संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले संविधान सभामा संविधान निर्माणको प्रक्रिया पनि व्यापक विचार विमर्श र अधिकतम राष्ट्रिय सहमतिबाट अघि बढेको स्मरण गर्नुभयो । 

उहाँले भन्नुभयो , ‘यी सबै ऐतिहासिक र युगान्तकारी घटनाको एक प्रमुख नेताको हैसियतले म साथीहरूलाई भन्छु, सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर नलैजानुस् ।’
प्रचण्डले देशका माफिया शक्ति एमाले र कांग्रेसलाई मिलाउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो , ‘हिजो कानुनमाथि नै शासन गरिरहेको वर्ग सरकारसँग डरायो । त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो एउटा समूह डरायो । ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरु भयो, अर्को समूह डरायो, भुटानी शरणार्थीको निष्पक्ष अनुसन्धान सुरु भयो अर्को ठुलै समूह डरायो । बाँसबारी देखि बालमन्दिर सम्मका जग्गा खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खलबलिन थाल्यो । त्यही वर्गले देशको पहिलो र दोस्रो दल मिलायो । तपाईँहरूलाई अनौठो लाग्ला त्यो समूहले आफ्नो शक्ति देखायो ।’

सरकारको सफलता नै सरकार ढाल्ने पूर्ण आधार बन्न गएको बताउँदै उनले समाजवाद उन्मुख राष्ट्र निर्माणको सङ्कल्प गरेपनि व्यवहारमा त्यो नभएको बताउनुभयो । उहाँले बिचौलियाको घरमा बसेर कांग्रेस एमालेले समीकरण परिवर्तन गर्ने निर्णय गरेको भन्दै त्यसमाथि पनि प्रश्न उठाउनुभयो ।

यस्तै प्रचण्डले कांग्रेस एमालेमा नैतिकता नभएको आरोप लगाउँदै भन्नुभयो, ‘अल्पमतमा परेपछि विगतमा एमाले नेतृत्वले कस्तो कस्तो र रणनीतिक महत्वका निर्णय गर्नुभयो । त्यो रेकर्ड इतिहासमा सुरक्षित छ त्यो कसैले मेटाएर मेटिँदैन ।’ कांग्रेसको हकमा पनि त्यही लागु हुने उहाँको भनाइ छ ।  

डरले कांग्रेस र एमालेलाई जोडेको भन्दै उनले त्यो डर सुशासनको भएको बताउनुभयो । उहाँले १७ गतेको सहमतिपछि सरकारलाई धम्क्याउने काम गरेको छ । उहाँले सरकारले कुनै दीर्घकालीन निर्णय नगरेको पनि बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको