Chauthoanga - Nepali News Media
सूचना र प्रविधिको महत्वलाई घरघरमा पुर्‍याउनआवश्यक : मन्त्री शर्मा

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सूचना र सञ्चार प्रविधि (आईसिटी) को महत्वलाई आत्मसाथ गरेर नेपालको रणनीतिक क्षेत्रका रुपमा  आईसिटीलाई समेटिएको बताउनुभएको छ ।

पुल्चोक इन्जिनियरिङ कलेजमा एनटिए सेन्टर अफ एक्सेलेन्स फर आइसिटी रिसर्च एण्ड डेभलपमेन्ट कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले समृद्धि नेपालको लक्ष्यलाई पूरा गर्न आईसिटीलाई सोह्रै योजनाको महत्वपूर्ण क्षेत्रका रुपमा समेटिएको जानकारी गराउनुभयो । 

मन्त्री शर्माले जनयुद्धले हरेकका घरघरमा आफ्नो अधिकार र राजनीतिक चेतना पु¥याएजस्तै आईसिटीले पनि सूचना र प्रविधिको महत्वलाई घरघरमा पुर्‍याउनआवश्यक रहेको बताउनुभयो । 

सरकारले ललितपुरको खुमलटारमा ज्ञान केन्द्र सञ्चालनको तयारी गरिरहेको बताउँदै मन्त्री शर्माले सातै प्रदेशमा आईसिटीको विकास आवश्यक रहेको समेत बताउनुभयो । 

मन्त्री शर्माले शिक्षालयहरूले दिने ज्ञान र बजारको मागबिच अन्तर्विरोध रहेको बताउँदै यस्ता अन्तर्विरोध इन्जिनियरिङ संस्थानले चिर्नेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो । 

मन्त्री शर्माले प्राविधिक शिक्षालयमा दक्ष जनशक्ति विकास गर्न सरकार र शैक्षिक संस्था सँगसँगै अघि बढ्नु पर्ने बताउनुभयो ।सरकारले साइबर सुरक्षा केन्द्र स्थापना गरेको बताउँदै मन्त्री शर्माले मौजुदा कानुनलाई समय सापेक्ष बनाउने र सरकार आवश्यक कानुन निर्माणको चरणमा रहेको जानकारी दिनुभयो । 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले एनटिए सेन्टर अफ एक्सेलेन्स फर आइसिटी रिसर्च एण्ड डेभेलोपमेन्ट कार्यक्रमले मुलुककै नीति निर्माणमा महत्वपूर्ण सहयोग पुर्‍याउने  बताउँदै सरकारले घोषणा गरेको  आइसिटी दशकलाई पनि सहयोग पुर्‍याउने बताउनुभयो । अध्यक्ष भण्डारीले आइसिटी रिसर्च एण्ड डेभेलोपमेन्ट कार्यक्रमले मुलुकमा नै दक्ष जनशक्ति उत्पादन र ब्रेनड्रेनको समस्या समाधानमा सहयोग पुग्ने स्पष्ट पार्नुभयो । 

अध्यक्ष भण्डारीले सूचना र सञ्चार प्रविधिको तिव्रतर विकास र परिवर्तनसँग नेपाललाई अभ्यस्त गराउन कार्यक्रमको महत्वपूर्ण योगदान हुने विश्वाससमेत व्यक्त गर्नुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले शिक्षालय र यस्ता कार्यक्रमलाई सफल बनाउन सरकार, विश्वविद्यालय र नीजि क्षेत्र तीन वटै क्षेत्रको सहयोग उत्तिकै आवश्यक हुने बताउनुभयो । 

उपकुलपति बरालले आईसिटीलाई हरेक क्षेत्रमा उपयोग गरेर समृद्धि मुलुक निर्माणमा योगदान गर्न सकिने बताउनुभयो ।इन्जिनियरिङ संस्थानका डिन प्रा. डा. शशीधर राम जोशीले अन्तर्राष्ट्रिय सहयोगमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेकोमा प्राधिकरणको सहयोगमा नवीनतम कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी लागेको बताउनुभयो । 

पुल्चोक इन्जिनियरिङ क्याम्पसका क्याम्पस प्रमुख डा. इन्द्र प्रसाद आचार्यले नवीनतम कार्यक्रम शुभारम्भ भएको र यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक स्तरबृद्धिमा समेत महत्वपूर्ण योगदान रहने बताउनुभयो । 

इलेकट्रोनिक्स एण्ड कम्प्युटर इन्जिनियरिङ विभागका विभागीय प्रमुख डा. ज्योति तण्डुकारले आईसिटीका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै कार्यक्रमले आईसिटीमार्फत मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको