Chauthoanga - Nepali News Media
एमालेले भूगोलको जिम्मेवारीबाट नेताहरुलाई फिर्ता बोलाउँदै

काठमाडौँ -  नेकपा एमालेले नेताहरूको जिम्मेवारी हेरफेर र कार्य विभाजनमा पुनर्विचार गर्ने भएको छ । पार्टी पदाधिकारी (उपाध्यक्ष, सचिव ) सहित स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्न लागेको एमाले नेताहरूले बताएका छन् ।

 एमाले केन्द्रीय सचिव पद्यमा अर्यालका अनुसार एक वर्षअघि २०८० साल जेठमा बसेको केन्द्रीय सचिवालय बैठकले एक वर्षका लागि नेताहरूको अस्थायी कार्य विभाजन गरेको थियो । एमालेले २०८० साललाई प्रदेश, जिल्ला हुँदै वडा कमिटीहरूको अधिवेशन सम्पन्न गर्न अधिवेशन वर्षका रूपमा कार्यक्रमहरू सार्वजनिक गरेको थियो । सोही कार्यक्रम र योजनाअनुसार नेताहरूको जिम्मेवारी हेरफेर गरिएकोमा त्यो काम पूरा भएकाले जिम्मेवारी पूर्ववत अवस्थामा फर्काउन लागिएको सचिव अर्यालले बताउनुभयो । 

एमालेले नेताहरूलाई अन्तर प्रदेश र अन्तर क्षेत्रका फरक फरक भूगोलमा नेताहरूको कार्यक्षेत्र रहनेगरी खटाएको थियो । जसअनुसार इन्चार्जहरूलाई अन्तर प्रदेश र जिल्ला इन्चार्जहरूलाई अन्तर जिल्ला इन्चार्जका रूपमा खटाएको थियो । त्यसैगरी केन्द्रीय सदस्यहरूलाई निर्वाचन क्षेत्र हुँदै पालिका तहसम्मको जिम्मेवारी दिइएको थियो ।

सधैँ अन्तरप्रदेश र अन्तर जिल्लाको जिम्मेवारी हुनुहुँदैन भनेर पुनर्विचार गर्न लागेको एमालेले जनाएको छ । यसअघि फरक भूगोलको जिम्मेवारी तोकिएकोमा केही नेताहरूले असन्तुष्टि समेत जनाएका थिए ।
 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको