Chauthoanga - Nepali News Media
देशभरमा हालसम्म बाढीपहिरोमा परेर  ७० को मृत्यु, पाँच जना बेपत्ता

 काठमाडौँ - अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत प्राकृतिक विपद्मा परी हालसम्म ७० जनाको ज्यान गएको छ । जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । 

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको उहाँकाो भनाई छ ।  उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना भएका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।

उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० रुपैयाँ मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको