Chauthoanga - Nepali News Media
जिल्ला नछाड्न सीडीओहरुलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ-गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट कमाण्ड पोष्टका संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उहाँले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय तहहरूसँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।

विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले स्थानीय तहहरूसँगको समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालको जोड दिनुभयो । “स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा स्थानीय तह नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय एकदमै महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।”

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको